लाहुरेको 'रिटायर्ड लाइफ' : उपहारमा पाएको एउटै बिरुवाले बनाइदियो ड्रागन खेतीमा सफल

Share News

धरान, सुनसरी। भारतीय सेनामा २८ वर्षको सेवा पूरा गरी कृपाश्वर घले गुरुङ नेपाल फर्किए। तर घर फर्किँदा, उनले भविष्यमा अवकाश जीवनलाई कसरी उपयोग गर्ने भन्ने योजना थिएन । करिब २१ वर्षअघि मलेसियामा रहेका एक साथीले उपहारमा दिएको एउटा बिरुवा उनलाई ठूलो आम्दानीको स्रोत बन्छ भन्ने उनले सोचेका पनि थिएनन्। सोही ड्रागन फलको बिरुवा नै अहिले उनको व्यवसायिक खेतीको आधार बन्यो। 

शुरूमा उनलाई यो फल यति महँगो र स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने थाहा थिएन। यो फल अन्य फलभन्दा महँगो पाइएकोले उनलाई यसप्रति आकर्षण बढ्यो। स्थानीय बजारमा प्रतिकिलो रु १२०० सम्ममा  विक्री हुने थाहा पाउँदा उनी हर्षित भए। अहिले उनलाई आफ्नो उत्पादनको बजारीकरणमा कुनै समस्या छैन, र भाटभटेनी सुपरमार्केटसँग समन्वय गरी  विक्री गर्दै आएका छन्।

रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा उपयोगविहीन थियो। सोही जग्गामा दुई सय ड्रागन फलको बिरुवा रोपेर खेती शुरु गरे। शुरूमा धेरैले उनको निर्णयलाई आलोचना गरे, तर उनी आफ्नो योजनामा अडिग थिए। ड्रागन फल वर्षभरि १० पटकसम्म फल्ने हुँदा उत्पादन र आम्दानी राम्रो भएको उनले बताए। उनको वार्षिक आम्दानी रु ५० लाखभन्दा बढी छ भने खर्च करिब रु १२ लाखजति छ। बिरुवाको  विक्रीबाट पनि वर्षमा दुई लाखभन्दा बढी आम्दानी हुँदै आएको छ।

उनको खेतीबाट प्रेरित हुँदै धेरै युवाहरूले ड्रागन खेती सुरु गरेका छन्। सुनसरीका भारतीय पूर्वलाहुरे कृष्णकुमार घलेले पनि कागती खेतीबाट नचाहेको आम्दानी नभएपछि एक बिघा जमिनमा ड्रागन खेती शुरु गरे। उनले वार्षिक रु ४० लाखभन्दा बढी आम्दानी गरिरहेका छन् भने खर्च करिब रु १० लाखजति छ।

उत्पादनमा समस्या नभएकोले, पूर्वी पहाडी व्यापारीदेखि काठमाडौं, पोखरासम्म  विक्रीका लागि पठाइने गरिएको छ। ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ।

विदेशबाट फर्केका धेरै युवाहरूले अहिले ड्रागन खेतीतर्फ आकर्षण देखाएका छन् । कृपाश्वर घलेले उनीहरूलाई उदाहरण बनेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।