पाकिस्तानको रेलवे स्टेशनमा विस्फोट, कम्तीमा १७ जनाको मृत्यु दर्जनौं घाइते

Share News

बलुचिस्तान, पाकिस्तान । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा शनिबार बिहान ८:४५ बजे यात्रुहरू प्लेटफर्ममा बसिरहेका बेला विस्फोट भएको छ। यस घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीका अनुसार मृतकको संख्या १७ पुगेको छ र यो संख्या अझै बढ्न सक्ने सम्भावना छ। विस्फोटमा घाइते भएका ४६ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र स्रोतसाधन सम्पन्न प्रान्त भए तापनि गरिबीले ग्रस्त छ। यस प्रान्तमा पृथकतावादी लडाकु समूहहरूको सक्रियता रहेको छ, जसले प्रायः विदेशी लगानीमा सञ्चालित परियोजनाहरूलाई लक्षित गर्दै आएका छन्। विशेष गरी चीनबाट सञ्चालित परियोजनाहरूलाई बाह्य शक्तिहरूले बलुचिस्तानको स्रोतको दोहन गरेको भन्दै यहाँका लडाकुहरूले आक्रमण गर्दै आएका छन्।

बलोच लिबरेशन आर्मी (बीएलए) नामक लडाकु समूहले सुरक्षा बल र अन्य प्रान्तका पाकिस्तानीहरूमाथि आक्रमण गर्ने दाबी गरेको छ। गत अगस्टमा बिएलएले दर्जनौं लडाकुहरूले गरेको आक्रमणको जिम्मेवारी लिएको थियो जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो। एएफपी/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।