बचतकर्ता र असल  ऋणीलाई सम्मान

Share News

विराटनगर। विराटनगर महानगरपालिका–१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले बचतकर्ता र असल ऋणीहरूलाई सम्मान गरेको छ । शनिवार १३औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गरेका थिए । 

नियमित बचत गर्ने र ऋणको साँवा, ब्याज तोकिएको समयभित्र तिर्नेहरूमध्येबाट उत्कृष्ट छनोट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताए । बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा उनले गरे । 

गलत गर्ने सहकारीलाई कारबाही दायरामा ल्याइने उनको भनाइ छ । महानगरमा सहकारी मात्रै हेर्ने छुट्टै शाखा रहेको भन्दै उनले हरेक सहकारीका कामकारबाहीलाई महानगरले सूक्ष्म रूपमा हेरिरहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेस, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव फरियाज, विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । २०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।