सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग पहिलो संस्करण शुरू, क्रिकेटका लागि गेम चेन्जर बन्ला ?

Share News

काठमाडौं । पहिलो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) फ्रेन्चाइज-आधारित टी-२० क्रिकेट प्रतियोगिता आज राजधानीमा शुरु हुँदैछ। राष्ट्रिय क्रिकेट नियामक संस्था, क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजित यस प्रतियोगिताको पहिलो संस्करणले संसारभरका प्रख्यात र अनुभवी खेलाडीहरूको सहभागिताले चर्चा बटुलिरहेको छ।   पहिलो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट शुरु हुदैछ । लिगको पहिलो दिन हुने एक मात्रै खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् ।

कीर्तिपुरमा रहेको टियु अनरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह १२:१५ बजे बाट शुरू हुँदैछ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ शुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गर्ने छन् । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । लिगमा कुल ३२ खेल आयोजना हनेछन् । लिगका सबै खेल कीर्तिपुरमा रहेको टियु मैदानमा नै हुनेछ ।

नेपाली क्रिकेटका लागि गेम चेन्जर बन्ला ?
७ प्रदेश र संघीय राजधानीलाई प्रतिनिधित्व गर्ने गरी ८ ओटा फ्रेन्चाइज टिमले उद्घाटन ट्रफीका लागि प्रतिस्पर्धा गर्दैछन्। यो ट्रफीमा कालापत्थरको ढुंगा र संसारकै अग्लो शिखर सगरमाथाको चित्र कुँदिएको छ।  

यस प्रतियोगितालाई विश्वव्यापी बनाउने अर्को विशेषता भनेको स्टार स्पोर्ट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था र अनरराष्ट्रिय कमेन्टेटरहरूको सहभागिता हो। त्रिभुवन विश्वविद्यालय (टीयू) अनरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा डिजिटल स्कोरबोर्ड र दर्शकका लागि नयाँ सिट व्यवस्थाको पनि तयारी गरिएको छ। इमाडोल निवासी रमण थापाजस्ता धेरैले आफ्नै देशमा अनरराष्ट्रिय खेलाडीहरूको खेल प्रत्यक्ष हेर्न टिकट बुक गरिसकेका छन्।  

भारतका शिखर धवन, न्यूजिल्यान्डका मार्टिन गप्टिल, जिम्मी निसाम, अमेरिकाका जोशुआ ट्रम्प, श्रीलंकाका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इंग्ल्यान्डका बेन माइक जस्ता खेलाडीहरूले प्रतियोगिताको आकर्षणलाई थप बढाएका छन्।  

नेपाली क्रिकेटरहरूले अनरराष्ट्रिय खेलाडीहरूसँग खेल्ने अवसर पाउनु, जसले सबै फर्म्याटका अनुभव र फ्रेन्चाइज-आधारित टी-२० प्रतियोगितामा खेलेका छन्, यसले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा ठूलो प्रभाव पार्नेछ। यदि यो प्रतियोगिता व्यावसायिक र व्यवस्थित रूपमा सञ्चालन गरियो भने, यसले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। यसले सरकारलाई क्रिकेट पूर्वाधारमा लगानी गर्न र प्रादेशिक तथा स्थानीय स्तरमा लिगहरू सञ्चालन गर्न दबाब दिनेछ।  

प्रतियोगिता सफल हुने उच्च सम्भावनाका कारण फ्रेन्चाइज टिम खरिद गर्न रु ४ करोडसम्म लगानी गरिएको छ। पोखरा एभेन्जर्स टिम रु ३ करोड ५७ लाखमा खरिद गरिएको तथा काठमाडौं गोर्खाज ३ करोड ३३ लाखमा खरिद भएको बताइएको छ।   क्यानले विजेता टोलीले पाउने पुरस्कार रकम खुलाएको छैन । तर, उत्कृष्ट नेपाली खेलाडीलाई कार उपहार दिने घोषणा गरेको छ।  

जनकपुर बोल्ट्सको नेतृत्व राष्ट्रिय टोलीका सदस्य विकेटकिपर अनिल शाहले गर्नेछन्। टोलीका अन्य सदस्यमा आसिफ शेख, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभा कंसाकार, शेर मल्ला र हेमन्त धामी छन्।  

अनन्तर्राष्ट्रिय खेलाडीहरूमा न्यूजिल्यान्डका जिम्मी निसाम, अमेरिकाका जोशुआ ट्रम्प, श्रीलंकाका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इंग्ल्यान्डका बेन माइक छन्। एकै पटकमा अधिकतम चार जना विदेशी खेलाडी खेल्न सक्ने नियम रहेको छ। जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक पूर्व राष्ट्रिय प्रशिक्षक पबुदु दासनायके हुन्।  

यसैगरी, विराटनगर किङ्सको कप्तानी स्पिन बलर सन्दीप लामिछानेले गर्नेछन्। टोलीका अन्य सदस्यमा लोकेश बम, प्रतीश जीसी, बशीर अहमद, राजेश पुलामी मगर, जितेन्द्र कुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुवास भण्डारी, नरन भट्ट र मुनाल गुरुङ छन्।  
विदेशी खेलाडीहरूमा ओमानका आकिब इलियास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्माइल आलम छन्। टोलीका प्रशिक्षक केभिन ओ'ब्रायन हुन्।  

जनकपुर बोल्ट्स र विराटनगर किङ्सका साथै प्रतियोगितामा कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स टोलीहरू पनि प्रतिस्पर्धा गर्दैछन्।  
प्रतियोगिता २१ डिसेम्बरमा हुने फाइनल खेलसँगै समाप्त हुनेछ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।