एनपीएल टीमहरूलाई निजीक्षेत्रको साथ

Share News

काठमाडौं । शनिवार शुरू भएको सर्वाधिक धनराशीको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट लाई देशको कर्पोरेट क्षेत्रले बलियो साथ दिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपीएल शनिवारदेखि पुस ६ गतेसम्म चल्नेछ ।

विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स टीममा व्यापारिक समूह जोडिएका छन् । 

विभिन्न टीमलाई निजीक्षेत्रले करोडौं लगानी गरेको छ । त्यस्तै खेलाडी किन्न, खेल सामग्री र तालिम, प्रशिक्षकको टोली र होटेल व्यवस्थापन आदि कामका लागि प्रत्येक टीमले १० करोड रुपैयाँ हाराहारी खर्च गरेको टीम सञ्चालकहरू बताउँछन् । विराटनगर किङ्सका एक सञ्चालक सुयश प्याकुरेलले टीम र खेलाडी किन्नेदेखि अन्य सबै गरी १० करोड रुपैयाँसम्मखर्च हुने अनुमान रहेको बताए । 

काठमाडौं गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटुवालले टीम किन्न ३ करोड ३३ लाख लगानी गरेको बताए । ‘नेपाली र विदेशी खेलाडी किन्न पनि खर्च भयो । विदेशी खेलाडीको ट्राभलको लागि खर्च हुन्छ र होटेलको खर्च, जर्सी र खेल सामग्रीको खर्च छ । त्यसैलै ८–९ करोडको खर्च हुने अनुमान छ । शायद १० करोड छुुन्छ कि,’ उनले भने । 

टीम सञ्चालकहरू अहिलेको लगानी केही वर्ष नउठ्नेमा आफूहरू विश्वस्त रहेको बताउँछन् । तर पनि विभिन्न वस्तु तथा सेवाका ब्रान्डहरूले यी आठ टीमको प्रायोजना गरिरहेको छन्, जुन टीमहरूको आयको प्रमुख स्रोत बनेका छन् । 

एनपीएलका टीममध्ये शनिवार मात्रै ग्लोबल आइएमई बैंकले सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक बन्ने सम्झौता गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे । ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । ‘बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं,’ उक्त कार्यक्रममा पोखरेलले भने । यो टीमलाई सगरमाथा लुम्बीनी इन्स्योरेन्स कम्पनीको साथ छ ।

त्यस्तै, विराटनगर किंग्सको मुख्य प्रायोजक एभरेष्ट बैंक हो, भने श्रीकेश तेलसहित अरूले समेत सहयोग गरेका छन् । 

काठमाडौं गुर्खाजको प्रमुख प्रायोजकमा चिनियाँ गाडी बीवाईडी रहेको छ भने प्रभु बैंक, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्सलगायतले साथ दिएका छन् । जनकपुर बोल्ट्स टीमलाई डिएनए फेसन नेपाल, रमपम, टेक्नो, धोनी साबुनलगायतले सहयोग गरेका छन् । एनपीएल टोली कर्णाली याक्सले मुख्य प्रायोजकका रूपमा महिन्द्रा अग्नि ग्रूपसँग सम्झौता गरेको छ । सम्झौतासँगै कर्णालीको जर्सीमा महिन्द्रा अंकित छ । 

यता, नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजको मुख्य प्रायोजकका रूपमा ब्लु स्टार जोडिएको छ भने रिलायन्स फाइनान्स, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलगायतले एनपीएलको टीम लुम्बिनी लायन्सलाई साथ दिएका छन् । एनपीएलकै एक प्रमुख प्रायोजक रहेको एनसेल लुम्बिनी लायन्ससँग जोडिने भएको छ । ‘हामीले ठूलै प्रायोजकका रूपमा आउँदै छौं । त्यसको घोषणा आइतवार गरिनेछ,’ एनसेल स्रोतले भन्यो ।

अन्य टोलीले समेत निजीक्षेत्रको साथ पाएका छन् । यता, एनपीएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । सिद्धार्थ बैंकले मुख्य प्रायोजक भई क्यानसँग ५ वर्षका लागि सम्झौता गरेको छ । एपीएलको प्रायोजनमा निजीक्षेत्रको मोबाइल सेवाप्रदायक एनसेल, नेपाल टेलिकमलगायत ठूला कम्पनीले लगानी गरेका छन् । एनसेल एनपीएलको ‘पावर्ड बाइ’मा जोडिएको छ । डिसहोमले युट्युबबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । शनिवारको खेलको एक्सन स्पोर्टस नेपाल युट्युबबाट गरिएको प्रत्यक्ष प्रसारण १९ लाख ३४ हजारभन्दा बढीले हेरेका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको उद्घाटन खेल हेर्न दर्शकको भरिभराउ उपस्थिति थियो । विश्व चर्चित खेलाडी सहभागी भएपछि एनपीएलको रौनक अझै थपिएको छ । उद्घाटन खेलमा दर्शकले विश्वचर्चित न्यूजिल्यान्डका मार्टिन गुप्टिलको खेल हेर्न पाए । खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी शुरुआत गरेको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीमा एशोसिएटका साथै टेस्ट राष्ट्रका विदेशी खेलाडी सहभागी भएका छन् ।

पुरस्कार राशी २ करोड ११ लाख रुपैयाँ

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशी २ करोड ११ लाख रुपैयाँ हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो । क्यानका अनुसार विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछ ।

यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशी हो । यसअघि २०७१/७२ मा फुटबलको राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार १ करोड दिएको थियो । उक्त कीर्तिमान एनपीएलले तोडेको हो । 

एनपीएलमा दोस्रो हुने टोलीले ५० लाख, तेस्रोले ३० लाख र चौथोले २० लाख रुपैयाँ पाउने क्यानले बताएको छ । यसरी क्यानले समग्रमा एनपीएलको पुरस्कारमा २ करोड ११ लाख रुपैयाँ खर्च गर्नेछ ।

निजीक्षेत्रका तर्फबाट घोषणा गरिएको खेलाडीको पारिश्रमिक तथा विजेताले पाउने पुरस्कारले पनि खेलाडीलाई प्रोत्साहित गर्न सक्ने देखिएको छ । व्यावसायिक घराना शारडा ग्रूपले प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषणा हुने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ ।

शारडा ग्रूपसँग क्यानको १ करोड २० लाख रुपैयाँ बराबरको सम्झौता भएको बुझिएको छ । यसरी अक्शन गर्दा एउटा टीमलाई १० खेलाडी खरीद गर्ने अवसर दिइएको थियो । समूह ‘ए’मा परेका खेलाडीलाई १० देखि १५ लाख, समूह ‘बी’मा परेकालाई ५ देखि १० लाख तथा समूह ‘सी’मा छानिएकालाई २ लाखदेखि ५ लाख रुपैयाँ दिइने भएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।