काठमाडौं । दुई कारोबार दिन घटेको नेप्से सोमवार शून्य दशमलव ७२ प्रतिशत बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ७५८ दशमलव ०४ विन्दुमा पुगेको छ । आज 'इन्ट्राडे'मा नेप्से २ हजार ७७३ दशमलव ४७ विन्दुसम्म पुगेको थियो भने न्यून २ हजार ७४६ दशमलव ४७ विन्दुसम्म झरेको थियो ।
बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब ८३ करोड बराबरको कारोबार भएकोमा आज रू. १० अर्ब ५४ करोडभन्दा बढीको कारोबार भएको हो । त्यस्तै कारोबार कित्ता पनि ९ कारोबार दिनयता (यही मंसिर ४ गते)कै बढी भएको छ ।
यही मंसिर ४ गते २ करोड ५८ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएकोमा आज २ करोड ३० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
यसबाट पुराना लगानीकर्ताले लगानी बढाएको र नयाँ लगानीकर्ता थपिएको अनुमान लगाउन सकिन्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३२ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव १७ प्रतिशत वृद्धि भएको छ ।
आज ३१४ धितोपत्रको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर १ लाख ३ हजार ४८१ पटक कारोबार भएको छ । आज कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २७० दशमलव ५०, विशाल बजार कम्पनीको रू. ६ हजार ५८८ दशमलव ४० र खानीखोला हाइड्रोपावरको शेयर मूल्य रू. ३२२ दशमलव ३० पुगेको छ ।
सोमवार सबैभन्दा बढी नेपाल फाइनान्सका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ७२ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २४४ मा झरेको छ । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ७३ प्रतिशत घटेर रू. २ हजार ४५८ कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ५९ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा ङादी ग्रुप पावर छ । यस कम्पनीको रू. ४८ करोड ८९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ९ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ४ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । यस्तै वित्त समूहको सूचक सबैभन्दा बढी १ दशलमव ९७ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।