पीपीपीमा थप चार आकाशेपुल
अभियान संवाददाता
कात्तिक २७, काठमाडौं । इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिले सार्वजनिक निजी साझेदारी अवधारणा (पीपीपी) मा काठमाडौं उपत्यकामा थप चारवटा आकाशे पुल निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनीलाई काठमाडौं महानगरपालिकाले दुई वर्षभित्र निर्माण गरिसक्ने गरी निर्माणको अनुमति दिएको हो । सम्झौताअनुसार बालाजु माछापोखरी र गोंगबु नयाँ बसपार्कमा निर्माणकार्य भइरहेको र नयाँ दुई स्थान कलङ्की र नयाँ बानेश्वर चोकमा समेत मङ्सिरको पहिलो साताबाट निर्माण शुरू गरिने कम्पनीका प्रबन्ध निर्देशक मनोज भेटवालले अभियानलाई बताए ।
कम्पनीले यसअघि उपत्यकाको रत्नपार्क र भद्रकालीमा बनाएको दुईवटा आकाशे पुलसमेत पीपीपी अन्तर्गत नै रहेका छन् । नयाँ पुलको निर्माण सकिँदा महानगरभित्र सार्वजनिक निजी साझेदारीका ६ वटा पुल हुनेछन् । उक्त कम्पनीले महानगरपालिकासँग २०५७ सालमा नै ६ वटा पुल बनाउने सम्झौता गरेको थियो । जसअनुसार हाल निर्माण सकिएका दुईवटा पुलहरू सञ्चालनमा छन् भने अन्यको निर्माण हुन बाँकी छ । नयाँ बसपार्क र माछा पोखरीमा निर्माणाधीन पुलको पर्खाल उठाउने कार्य सकिएको छ ।
कम्पनीले सम्झौता भएको १० वर्षपछि मात्र नयाँ बाँकी चार पुलको निर्माण थालेको छ । शिलान्याससमेत भइसेको बानेश्वर चोकको पुलको लागत करीब ६ करोड ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने कलङ्कीको आकाशेपुलको लम्बाइ बढी हुने र धरै तलदेखि पर्खाल उठाउनु पर्ने भएकाले केही बढी लागत लाग्न सक्ने भेटवालले बताए । कम्पनीले नयाँ बन्ने दुईवटै पुलहरू उपत्यकामा भएका अन्य पुलभन्दा केही फरक ढङ्गबाट बनाइने बताइएको छ ।
कलङ्की एवम् नयाँ बानेश्वर चोकमा बन्ने आकाशेपुलको खुट्किलाको उचाइ अन्य पुलको भन्दा कम हुने तथा पुलको बीचमा आराम गर्नका लागि बस्ने कुर्सीको समेत व्यवस्था गरिने बताइएको छ । चारैतर्फबाट आवतजावत गर्न सकिने गरी निर्माण हुने तीन पुलको उचाइ करीब साढे पाँच मिटर रहनेछ । भौतिक योजना तथा निर्माण मन्त्रालयले डिजाइन गरेको ती पुलमध्ये कलङ्कीको आकाशेपुल सबैभन्दा ठूलो हुने बताइएको छ । उक्त पुलको चौडाइ १२ देखि १४ फुटसम्मको हुने निर्माता कम्पनीले जानकारी दिएको छ । मानिसको आवतजावत अत्यन्तै बाक्लो हुन थालेकाले यस्ता स्थानमा आकाशेपुलको निर्माण गर्न थालिएको काठमाडौं महानगरपालिका, शहरी विकास विभागका इञ्जिनीयर सुरज शाक्यले बताए ।
निर्माण गरेबापत कम्पनीले १८ वर्षका लागि पुलको जिम्मा पाउनेछ । सो अन्तर्गत कम्पनीले १८ वर्षसम्म पुलको सटर र होडिङ बोर्डको भाडा भोगचलन गर्न पाउने बताइएको छ । यसअनुसार कम्पनीले चारवटै पुलको रोयल्टीबापत वार्षिक २२ लाख रुपैयाँ काठमाडौं महानगरपालिकालाई बुझाउने सम्झौता भएको छ । महानगरपालिका आफैले निर्माण गरेको सुन्धारा, न्युरोड गेट, वीर अस्पताल, भोटाहिटी र जमलका पुलहरुको समेत कम्पनीलाई १८ वर्षका लागि सञ्चालनको जिम्मा दिएको छ । यसबापत कम्पनीले काठमाडौं महानगरपालिकालाई वार्षिक २२ लाख रुपैयाँ रोयल्टी बुझाउनु पर्ने हुन्छ ।
कम्पनीले महानगरपालिकालाई अन्य २५ ठाउँको अध्ययन गरी प्रतिवेदन बुझाएको छ । कम्पनीले चाबहिल, नारायणगोपाल चोक, बालाजु सिर्द्धार्थ वनस्थली स्कूलअगाडि, गौशाला, कोटेश्वर, त्रिपुरेश्वर, टेकु भन्सार, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, ग्वार्कोलगायतका सम्भावित स्थानका बारेमा गरिएको अध्ययन प्रतिवेदन बुझाएको हो । मङ्सिर मसान्तसम्ममा मेट्रोको फ्ल्याट हस्तान्तरण
अभियान संवाददाता
कात्तिक २७, काठमाडौं । मेट्रो अपार्टमेण्टका खरीदकर्ताहरूलाई निर्माण कम्पनीले मङ्सिर मसान्तसम्ममा फ्ल्याट हस्तान्तरण गर्ने भएको छ । अपार्टमेण्टको करीब ९८ प्रतिशत फ्ल्याटहरू बुक तथा विक्री भइसकेकाले हस्तान्तरण गर्न लागिएको निर्माता कम्पनी अम्बे हाउजिङका योजनाप्रमुख मनोज ज्ञवालीले अभियानलाई बताए ।
काठमाडौंको कुलेश्वरमा रहेको उक्त अपार्टमेण्ट बैङ्क अफ काठमाडौंको वित्तीय सहयोगमा अम्बे हाउजिङ कम्पनीले निर्माण गरेको हो । चार रोपनी जग्गामा फैलिएको अपार्टमेण्टमा १० तलाका दुइवटा भवन रहेका छन् । उक्त अपार्टमेण्टको दुइवटा भवनमा गरी ५८ वटा फ्ल्याट रहेका छन् । कम्पनीले हरेक फ्ल्याटको मूल्य न्यूनतमम ६५ लाखदेखि ८९ लाख रुपैयाँसम्म रहेको जानकारी गराएको छ ।
'ए’ र 'बी’ गरी दुइवटा भवन रहेको उक्त अपार्टमेण्टको ब्लक 'ए’ मा तीनवटा बेड रूम, एटेच बाथरूम, किचन, छुट्टै कपडा धुने ठाउँसमेतको व्यवस्था भएको बताइएको छ । यसैगरी ब्लक 'बी’मा भने दुइवटा बेडरूम, किचन र एटेच बाथरूम रहेको छ । कम्पनीले अपार्टमेण्टको ब्लक 'ए’ का फ्ल्याटहरूको मूल्य तलाअनुसार ७७ लाख देखि ८९ लाख रुपैयाँसम्म राखेको छ भने ब्लक 'बी’ को फ्ल्याट भने ६५ लाख देखि ६९ लाख रुपैयाँसम्ममा विक्री गर्दै आएको योजनाप्रमुख ज्ञावलीले बताए ।
कुल चार रोपनी क्षेत्रफल ओगटेको मेट्रो अपार्टमेण्टको ब्लक 'ए’ मा १ हजार ३ सय २९ वर्गफिटदेखि १ हजार ३ सय ८६ वर्गफिटसम्मका फ्ल्याटहरू छन् भने ब्लक 'बी’मा १ हजार ७० वर्गफिटदेखि १ हजार १ सय १३ वर्गफिटसम्मका फ्ल्याटहरू छन् । कम्पनीले सबैभन्दा पहिला फ्ल्याट बुकिङ गर्नेलाई उपहारको समेत व्यवस्था गरेको थियो । जसअनुसार सर्वप्रथम बुकिङ गर्नेलाई उपहारस्वरूप २ लाख ५० हजार रुपैयाँबराबरको आधुनिक किचन दिएको बताइएको छ ।
कम्पनीले उक्त अर्पाटमेण्टमा साझा बगैँचा, सवारी पार्किङ, सीसी टीभी, सभा तथा पार्टीका लागि पार्टीस्थल, बालबालिकाका लागि पौडीपोखरी र पाँचतारे होटलसरहको रिसेप्शन पनि उपलब्ध गराएको बताएको छ । अपार्टमेण्टमा चौबीसै घण्टा पानी र बत्तीको व्यवस्था मिलाइएको ज्ञवालीको भनाइ छ । कम्पनीले फ्ल्याट विक्रीमा किस्ताबन्दीको समेत व्यवस्था गरेको छ । यसका लागि कम्पनीले बैङ्क अफ काठमाडौंबाट सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । यसका अलावा कम्पनीले खरीदकर्ताको आयस्रोत हेरेर अरू बैङ्कबाट समेत ऋण उपलब्ध गराउन सकिने जानकारी गराएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।