आठ कारोबार दिनपछि २७०० विन्दुमुनि झर्‍यो नेप्से, तीन धितोपत्रको मूल्यमा नेगेटिभ सर्किट

Share News

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक १ दशमलव ६७ प्रतिशत घटेर २७ सय विन्दुमुनि बन्द भएको छ । यससँगै नेप्से २ हजार ६८९ मा झरेको हो । आज 'इन्ट्रा-डे'मा नेप्से २ हजार ७३५ दशमलव ६७ विन्दुसम्म पुगेको थियो भने २ हजार ६७५ दशमलव ९२ विन्दुसम्म झरेको थियो । 

यसअघि यही मंसिर १० गते नेप्से २७ सय विन्दुमुनि बन्द भएको थियो । त्यसपछि आठ कारोबार दिनपछि नेप्से पुन: २७ सय विन्दुतल झरेको हो । आजसँगै नेप्से लगातार तीन कारोवार दिन घटेको हो । सो अवधिमा नेप्से ३ दशमलव १३ प्रतिशत घटेको छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५० प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४८ प्रतिशत घटेको छ । 

आज ३२१ धितोपत्रको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर ८१ हजार ४०४ पटकमा रू. ७ अर्ब ४६ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७१ दशमलव ६० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा दोल्ती पावर कम्पनी छ । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ७७ प्रतिशत बढेर रू. ६५७ पुगेको छ । 

आइतवार तीन कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेसँगै नेगेटिभ सर्किट लागेको हो । मानुषी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू.२ हजार २५०,लाइफ इन्स्योरेन्स कर्पोरेशनको रू. १ हजार ३९९ दशमलव ५० र जोशी हाइड्रोपावरको रू.४२७ दशमलव ५० मा झरेको छ । 

शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३२ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ११४ दशमलव ८० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्स छ । यस कम्पनीको रू. १५ करोड ६८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ०७ प्रतिशत घटेको छ । त्यस्तै व्यापार समूहको सूचक २ दशमलव १३ प्रतिशत र जलविद्युत् समूहको सूचक १ दशमलव ९८ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।