काठमाडौं । साताको तेस्रो कारोबार दिन मङ्गलवार पनि नेप्से घटेर बन्द भएको छ । आजसँगै लगातार पाँच कारोबार दिन घटेर नेप्से ६ दशमलव ३२ अंक घटेर २ हजार ६६९ दशमलव ८२ विन्दुमा झरेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ६२ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ४१ करोडमा झरेको छ ।
पछिल्लो समय आम लगानीकर्तामा बजार कता जान्छ भन्ने दुबिधा रहेको देखिन्छ । यसैकारण कारोबार रकम पनि सुस्त भएको हो । विक्रेता कम भएका र अहिलेको मूल्यमा खरीद गर्नेहरू पनि नभएका कारण कारोबार रकम घटेको देखियो े । बजारले स्पष्ट संकेत नदिएकाले पनि कारोबार रकम प्रभावित भएको लगानीकर्ताको भनाई छ । नेप्से २६ सयको लाइनमा आएपछि विस्तारै सम्हालिन खोजेको भने देखिन्छ । दैनिक कारोबार रकम पनि न्यून रहेकाले प्यानिक सेलर सकिएको संकेत गर्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २७ प्रतिशत घटेको छ ।
३०३ धितोपत्रको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर ५२ हजार ७०५ पटकमा रू. ४ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्र मध्ये सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ७ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४७७ पुगेको छ । त्यस्तै दोस्रोमा खानीखोला हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ५३ प्रतिशत बढेर रू. ४६५ दशमलव ५० पुगेको छ ।
मंगलवार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६५ मा झरेको छ । त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्य ३ दशमलव ५९ प्रतिशत घटेर रू.१ हजार २५१ दशमलव ५० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. १८ करोड ९६ लाख बराबरको भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सानिमा माई हाइड्रोपावरको रू. १८ करोड ७६ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचक मध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । बढ्नेमा उत्पादन तथा प्रशोधन समूहको सूचक शून्य दशमलव ३३ प्रतिशत बढेको छ भने जीवन बीमा समूहको सूचक १ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।