एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष श्रेष्ठपछि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुनिने

Share News

काठमाडौं । अर्को एक कार्यकाल छाडेर निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष चयन पुन: प्रत्यक्ष निर्वाचनबाट गरिने भएको छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ । 

२०७३ मा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । त्यसको ८ वर्षपछि महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचन हुने गरी विशेष साधारणसभाले विधान संशोधन पारित गरेको छ । यससँगै महासंघको शीर्ष नेतृत्व चयनमा पुरानै व्यवस्था कायम भएको हो । 

  • वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएपछि मात्रै प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुनिने
  • कार्यसमितिको कार्यकाल ३ वर्षबाट २ वर्षमा झर्ने

महासंघले विधान संशोधनका लागि मंगलवार डाकेको विशेष साधारणसभाबाट प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने प्रस्ताव पारित भएको हो । विशेष साधारणसभाबाट पारित भएको प्रत्यक्ष अध्यक्ष चयन हुने व्यवस्था महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भई कार्यकाल पूरा गरेपछि मात्रै लागू हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । यसको अर्थ २०८५ सालको चैतमा हुने महासंघको साधारणसभाबाट अध्यक्ष प्रत्यक्ष निर्वाचनमार्फत चुनिनेछन् । हालका अध्यक्ष ढकालको कार्यकाल २०८२ चैतसम्म छ । त्यसपछि थप ३ वर्ष अञ्जन श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् । अनि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने गरी विधान संशोधन भएको हो । ‘यस्तै ३ वर्षको कार्यकाललाई २ वर्षमा झारिएको छ,’ ढकालले भने । प्रत्यक्ष निर्वाचनबाटै महासंघको अध्यक्ष निर्वाचित हुनुपर्ने र त्यसका लागि विधान संशोधन हुनुपर्ने दबाब महासंघका सदस्यहरूले दिँदै आएका थिए । 

‘जिल्ला नगर उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष २–२ जना गरिनुपर्ने प्रस्ताव भए पनि उक्त सभाले एक जना नै वरिष्ठ उपाध्यक्ष हुने निर्णय गरेको छ,’ ढकालले भने । २०८० चैत २८ र २९ गते सम्पन्न महासंघको ५८औं वार्षिक साधारणसभाले महासंघको विधान संशोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । त्यसअनुसार २०८१ जेठ २० गतेको स्थायी समिति र असार २४ गतेको ७औं कार्यकारिणी समिति बैठकले विधान संशोधनको मस्यौदा सर्वसम्मतिले पारित गरेको थियो । 

यस्तै कार्यकाल २ वर्षको हुने निर्णय पनि सोमवार सम्पन्न विशेष सभाले गरेको छ । २ वर्षे कार्यकालको व्यवस्था पनि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्ष कार्यकाल सकिएपछि लागू हुनेछ । महासंघको विधानमा महिला उपाध्यक्ष रहने व्यवस्था थपिएको छ । महिला उपाध्यक्ष कार्यकारीणी समितिले चयन गर्नेछ । तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्रै महिला उपाध्यक्ष चयन हुने व्यवस्था विधानमा थपिएको छ । यस्तै जिल्ला/नगरतर्फ २ जना उपाध्यक्ष रहने व्यवस्था पनि विशेष साधारणसभाले गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।