बैंकिङ्ग समूह बढेपछि २७ सय विन्दुमाथि उक्लियो नेप्से, ५ अर्ब ५ करोड बराबरको कारोबार हुँदा सर्वाधिक हिस्सा जानकी फाइनान्सको

Share News

काठमाडौं । लगातार पाँच कारोबार दिन घटेको नेप्से बुधवार (आज) १ दशमलव ७१ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७१५ दशमलव ७१ विन्दुमा पुगेको हो ।

लगातार घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएसँगै बजार बढेको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकको शेयरमा परेको छ ।

उक्त समूहको सूचक आज सबैभन्दा बढी ३ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ । बैंकिङ्ग समूह बढेपछि नेप्से २७ सय विन्दुमाथि पुगेर बन्द भएको छ ।

कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ४१ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्बभन्दा बढीको कारोबार भएको हो । 

यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव १४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । 

आज ३०८ धितोपत्रको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर ५६ हजार ३५० पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३८९ दशमलव २० पुगेको छ ।

त्यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशत बढेर रू. २ हजार ८१३ दशमलव १० पुगेको छ । 

बुधवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१९ मा झरेको छ । त्यस्तै, जोशी हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २२ प्रतिशत घटेर रू. ४३७ दशमलव ८० कायम भएको छ । 

शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९५६ दशमलव ८० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको रिभर फल्स पावरको रू.२० करोड २५ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको सूचक शून्य दशमलव ३४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । आज सबैभन्दा बढी बैंकिङ्ग समूहको सूचक ३ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै जलविद्युत समूहको सूचक १ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।