सिमेन्ट उद्योगी र निर्माण व्यवसायीले सिमेन्टको अधितकम मूल्य सिफारिश गर्ने

फाइल तस्वीर ।

Share News

काठमाडौं । सिमेन्ट उद्योगी र निर्माण व्यवसायीले सिमेन्टको अधिकतम मूल्य सरकारलाई प्रस्ताव गर्ने भएका छन् । सार्वजनिक निर्माणले गति लिने समयमा सिमेन्ट उद्योगहरूले सिमेन्टको भाउ प्रतिबोरा १५० रुपैयाँभन्दा धेरैले बढाएपछि निर्माण व्यवसायीले यसले उनीहरूको लागत बढाउने भन्दै विरोध गर्दै आएका थिए । 

बुधवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सरकारी अधिकारीहरू, निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच भएको छलफलमा सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरू सिमेन्टको हालको मूल्य पुनर्विचार गरी अधिकतम मूल्य सिफारिश गर्न सहमत भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी डिकबहादुर कार्कीले बताए ।

‘मूल्य वृद्धिले सार्वजनिक निर्माणदेखि घर निर्माणसम्ममा पर्ने असरलाई विचार गरेर मूल्य केही घटाउन सिमेन्ट उद्यागीहरूलाई आग्रह गरे,’ कार्कीले भने, ‘त्यसपछि सिमेन्ट उद्योगी र निर्माण व्यवसायी आपसमा छलफल गरी अधिकतम मूल्य सिफारिश गर्न सहमत भएका छन् ।’ 

तर, नेपाल व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौंमा अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को अधिकतम खुद्रा मूल्य ७०० रुपैयाँ प्रतिबोरा र पोर्टल्यान्ड पाजोलाना सिमेन्ट (पीपीसी)को अधिकतम मूल्य ६०० रुपैयाँ प्रतिबोरा गर्न सिमेन्ट उद्योगी राजी भएको दाबी गरे । उनका अनुसार हाल ओपीसीको मूल्य प्रतिबोरा ८८० रुपैयाँ र पीपीसीको ७८० रुपैयाँ पुगेको छ । 

सिमेन्ट उद्योगीहरू धेरै महीनादेखि घाटामा चलाउनुपरेकाले उद्योग बचाउनकै लागि मूल्य बढाउनु परेको बताउँछन् । ‘कतिपय सिमेन्ट उद्योगले मासिक करोडौं घाटा बेहोरेर विक्री गरेका छन् । अहिले निर्माणको सिजन पनि शुरू भएको र माग पनि बढेको हुँदा सिमेन्टको मूल्य बढेको हो,’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले गत हप्ता आर्थिक अभियानसँग भनेका थिए ।

अहिले अर्थतन्त्र सुस्ताएको र सिमेन्टको माग पनि बजारमा कम भएको बेला एक्कासि कार्टेल गरी मूल्य बढाएको भन्दै निर्माण व्यवसायीले सार्वजनिक निर्माणको काम नै नथाल्ने चेतावनी दिएका थिए । त्यस्तो चेतावनी बुधवारको बैठकमा पनि उनीहरूले दिए । 

सिमेन्ट उद्योगीहरू शुरूमा मूल्य घटाउन राजी नभए पनि मन्त्री र अन्य सरोकारवालाको आग्रहपछि त्यसमा पुनर्विचार गर्न राजी भएका थिए । ‘त्यसपछि सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच छलफलबाट अधिकतम मूल्य सिफारिश गर्ने सहमति जुटेको हो,’ कार्कीले भने, ‘उनीहरूले आगामी २–३ दिनमा आफ्नो सुझाव प्रस्ताव गर्ने कुरा भएको छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।