प्राथमिक बजारमा निष्कासनमै छन् ५ करोड ८८ लाखभन्दा बढी कित्ता हकप्रद शेयर

Share News

काठमाडौं । धितोपत्र प्राथमिक बजारमा हाल चार कम्पनीहरूको कुल ५ करोड ८८ लाख ७८ हजार ९२० कित्ता हकप्रद शेयर निष्कासनमा रहेका छन् ।

लिवर्टी ईनर्जीको ७५ लाख कित्ता, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ करोड ३४ लाख ६८ हजार कित्ता, एनएलजी इन्स्योरेन्सको ९६ लाख ३१ हजार २२० कित्ता र बलेफी हाइड्रोपावरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासनमा रहेको हो ।

यीमध्ये एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन पुस १ गते छ । कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूका लागि मंसिर ११ गतेदेखि ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त अनुपातमा कम्पनीको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँ कायम हुनेछ ।

पूँजी वृद्धिकै लागि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि हकप्रद शेयर निष्कासन गरिरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले हाल कायम चुक्तापूँजीको आधारमा ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर मंसिर १२ गतेदेखि निष्कासन गरेको हो । उक्त अनुपातमा कम्पनीले कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूका लागि २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रद शेयर पुस २ गतेसम्म मात्र निष्कासनमा रहनेछ । हाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ । 

यीबाहेक दुई जलविद्युत कम्पनीको हकप्रद शेयर प्राथमिक बजारमा विक्रीमा रहेका छन् । लिवर्टी ईनर्जीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाका लागि भएको बाँकी रकम र ऋण रकम भुक्तानीका साथै लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्नका लागि ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । लिवर्टी ईनर्जीले मंसिर १६ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर पुस ७ गतेसम्म निष्कासनमै रहनेछ । कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्र लिवर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

त्यस्तै बलेफी हाइड्रोपावरले पनि कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूकै लागि १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर मंसिर २७ गतेदेखि निष्कासनमा ल्याएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । योग्य आवेदकहरूले पुस १७ गतेसम्म यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

बलेफी हाइड्रोले आयोजना निर्माणका लागि लिएको बैंक ऋण आंशिक रुपमा भुक्तानी, प्रवर्द्धकहरूबाट लिएको ऋण पूर्णरुपमा भुक्तानी र विभिन्न ठेकेदार तथा विक्रेताहरूमा बाँकी रहेको रकम भुक्तानीका लागि हकप्रद निष्कासन गरेको हो । यी शीर्षकमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रकम रहेको समेत कम्पनीले प्रष्ट पारेको छ ।

कम्पनीको नाम  निष्कासनमा आएको कित्ता  निष्कासन मिति  आवेदन दिने अन्तिम दिन 
लिवर्टी ईनर्जी  7,500,000 मंसिर १६ पुस ७ 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल 23,468,000 मंसिर १२  पुस २ 
एनएलजी इन्स्योरेन्स  9,631,220 मंसिर ११ पुस १
बलेफी हाइड्रोपावर   18,279,700 मंसिर २७ पुस १७
जम्मा  58,878,920    

स्रोत : सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।