लक्ष्मी सन्राइज बैंकको ‘नेटिभ पकेट वृक्षरोपण’ पहल

Share News

काठमाडौं। वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सन्राइज बैंक, टीका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’को सहकार्यमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० ओटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षरोपण गरेको छ । 

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविद् डा. जेन गुडाल कार्यक्रममा उपस्थिति भई रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे । साथै उनले बैंकको वातावरणीय संरक्षणको प्रतिबद्धता र विभिन्न अभ्यासको समेत सराहना गरेका थिए । २५० ओटा रुखको नेटिभ पकेट वनको वृक्षरोपण ‘मियावाकी प्रविधि’बाट गरिएको बताइएको छ । यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सृजना गर्दै स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थी तथा स्थानीय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्ने बताइएको छ ।

बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेभोल्युसन प्रोजेक्टका विज्ञद्वारा भएको थियो । यो पहल बैंकको गत महीना सम्पन्न नवौं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘हजार रुख रोप्ने प्रतिबद्धता’को एक पाटो रहेको बताइएको छ । यस सहकार्यले वातावरणीय संरक्षणको लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाबीचको साझेदारी र यस्ता सामूहिक पहलको महत्त्वलाई उजागर गर्ने बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।