दुई अर्ब लगानीमा सौर्य ऊर्जा उत्पादन गर्दै विद्युत् उत्पादन कम्पनी

फाइल तस्वीर ।

Share News

काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले करीब २ अर्ब रुपैयाँ लागतमा सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १३ मा ३० मेगावाट क्षमताको सौर्य ऊर्जा फार्म सञ्चालन गर्न लागेको कम्पनीले बताएको छ ।

सरकारी स्वामित्वको यो कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा हात हाल्न लागेको हो । कम्पनीका कार्यकारी अधिकृत बखतबहादुर शाहीले दैलेख जिल्लामा विद्युतीकरणलाई अझ विस्तार गर्ने उद्देश्यले कम्पनीले सो ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न लागेको बताए ।३० मेगावाटबाट सौर्य ऊर्जा उत्पादनको काम शुरू गरेर अबको ३ वर्षभित्रमै १०० मेगावाट क्षमतासम्म पुर्याउने लक्ष्य रहेको शाहीले जानकारी दिए ।

सरकारबाट निर्माणको अनुमति पाइसकेको भए पनि विद्युत् खरीदविक्री सम्झौता (पीपीए) नभएका कारण निर्माण कार्य भने अघि बढ्न नसकेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता प्रतिस्पर्धाबाट मात्र गर्ने बताएको छ । 

‘सरकारी कम्पनी भए पनि प्रतिस्पर्धाको माध्यमबाट आउनुपर्छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आर्थिक अभियानसँग भने । प्राधिकरणले सौर्य ऊर्जाका लागि अधिकतम मूल्य प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा तोकेको छ । त्योभन्दा कम मूल्य कायम गर्न सौर्य ऊर्जा उत्पादकहरूबीच प्रतिस्पर्धा गराएर प्राविधिक रूपमा सक्षममध्ये सबैभन्दा न्यून मूल्य कबोल गर्ने कम्पनीबाट सौर्य ऊर्जा लिने नीति प्राधिकरणको छ । 

  • गत कात्तिकमा प्रतिस्पर्धाबाट छानिएका ६३ सौर्य परियोजनाबाट ९६० मेगावाट सौर्य ऊर्जा किन्ने भनी प्राधिकरणले सूचना जारी गरेको थियो । 
  •  दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १३ मा ३० मेगावाट क्षमताको सौर्य ऊर्जा फार्म बनाउने योजना
  •  आगामी ३ वर्षभित्र कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमध्ये कुनै एक ठाउँबाट ३०० मेगावाटसम्म सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य
  •  विद्युत् खरीद सम्झौताका लागि प्रतिस्पर्धाबाटै आउनुपर्ने विद्युत् प्राधिकरणको भनाइ

हिउँदमा जलविद्युत् उत्पादन कम हुने भएकाले विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउन सौर्य ऊर्जा खरीदलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको छ । प्राधिकरणले हिउँद याममा भारतबाट बिजुली आयात पनि गर्दै आएको छ । प्राधिकरणले सौर्य ऊर्जा खरीदलाई प्राथमिकता दिँदै गरेको स्थितिमा विद्युत् उत्पादन कम्पनी लिमिटेडले सौर्य ऊर्जाका परियोजना अघि बढाउन खाजेको छ ।

शाहीका अनुसार आगामी ३ वर्षभित्र कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमध्ये कुनै एक ठाउँबाट ३०० मेगावाटसम्मको सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको छ । यसका लागि उपयुक्त जमीनको खोजी भइरहेको शाहीले बताए ।

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा कर्णालीमा सबैभन्दा कम, ७४ दशमलव ३८ प्रतिशत मात्र विद्युतीकरण भएको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै शतप्रतिशत विद्युतीकरण भएको छ । प्राधिकरणका अनुसार कम्पनीले सौर्य ऊर्जा उत्पादन गर्न लागेको दैलेख जिल्लामा ८१ दशमलव शून्य ५ प्रतिशत विद्युतीकरण भएको छ ।

विद्युत् उत्पादन कम्पनीले अहिले ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना, ४५४ मेगावाटको किमाथांका अरुण, १ हजार ९०२ मेगावाटको मुगु कर्णाली, १०६ मेगावाटको जगदुल्ला र नलगाड जलविद्युत् आयोजना निर्माण गर्दै छ ।

‘जलविद्युत् उत्पादन गर्न लागत पनि धेरै लाग्ने र वर्षौं समय लाग्ने भएकाले त्यसको तुलनामा सौर्य ऊर्जा उत्पादन चाँडो र लागत पनि कम लाग्ने भएकाले यसमा पनि किन लगानी नगर्ने भन्ने भयो । अर्को कुरा हामीले बनाउने सौर्य ऊर्जा परियोजनाहरूले सानो मात्रामा भए पनि सरकारले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न लिएको लक्ष्यलाई सघाउ पुग्नेछ भन्ने विश्वास छ,’ शाहीले आर्थिक अभियानसँग भने ।

कर्णाली प्रदेशका जिल्लाहरू रुकुम पश्चिममा ९५ दशमलव शून्य ८ प्रतिशत र मुगुमा सबैभन्दा कम ३१ दशमलव ८० विद्युतीकरण भएको छ । सुर्खेतमा ८६ दशमलव ४८, सल्यानमा ७९ दशमलव ५०, जाजरकोटमा ४९ दशमलव ८०, कालीकोटमा ७० दशमलव ९६, जुम्लामा ६२ दशमलव ४७, डोल्पामा ४२ दशमलव ७५ र हुम्लामा ३२ दशमलव ५१ प्रतिशत विद्युतीकरण भएको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।