गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

Share News

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि विक्री खुला गरिरहेको आईपीओ आवेदन दिने अन्तिम दिन आज (पुस २४ गते) रहेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ विक्री गरी बाँडफाँट गरेपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो ।  

आईपीओ खरीदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ । त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।