बैंकहरूको शेयर धितो कर्जा ३५ प्रतिशतले बढ्यो

Share News

काठमाडौं । राष्ट्र बैंकले शेयर धितो कर्जाका सन्दर्भमा लचिलो नीति लिएपछि वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनाभित्र यस्तो कर्जा ह्वात्तै विस्तार गरेका छन् । शेयर धितोमा प्रवाह गरिने कर्जालाई शेयर धितो कर्जा वा मार्जिन कर्जा पनि भनिन्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा समग्रमा ३५ दशमलव ५७ प्रतिशतले वाणिज्य बैंकहरूले प्रवाह गरेको शेयर धितो कर्जा वृद्धि भएको हो । 

गत आवको मङ्सिर मसान्तसम्म निकै न्यून मात्र यस्तो कर्जा उपलब्ध गराएका कतिपय वाणिज्य बैंकको शेयर धितो कर्जामा व्यापक विस्तार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

उदाहरणका लागि नेपाल एसबीआई बैंकको शेयर धितो कर्जा १ हजार ८९० भन्दा धेरै प्रतिशतले बढेको छ । यो गत आवको पहिलो ५ महीनासम्म मात्र २ करोड ३९ लाख मात्र शेयर धितो कर्जा प्रवाह गरेको यो बैंकले चालू आवको सोही अवधिमा ४७ करोड ६५ लाख रुपैयाँ बराबर यस्तो कर्जा पुर्याएको छ । 

वाणिज्य बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले कति पनि शेयर धितो कर्जा प्रवाह गरेको देखिँदैन भने सबैभन्दा न्यून यस्तो कर्जा प्रवाह गरेको बैंक– नेपाल एसबीआई बैंक नै हो । दोस्रो कम यस्तो कर्जा प्रवाह गर्ने बैंक– माछापुच्छ्रेको शेयर धितो कर्जा पनि १०३ दशमलव २९ प्रतिशतले बढेको छ । 

गत आवको मङ्सिर मसान्तसम्म सबभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेको नबिल बैंकले उक्त कर्जा २ दशमलव ७८ प्रतिशतले बढाएको छ । दोस्रो धेरै यस्तो कर्जा प्रवाह गरेको ग्लोबल आइएमई बैंकले कर्जा ७७ दशमलव ८७ प्रतिशतले विस्तार गरेको छ । 

चालू आवको पहिलो ५ महीनामा वाणिज्य बैंकहरूले यस्तो कर्जा ८६ अर्ब ३३ करोड रुपैयाँले विस्तार गरेका छन् । गत आवको सोही अवधिमा यस्तो कर्जा ६३ अर्ब ६७ करोड रुपैयाँ प्रवाह भएको थियो । समग्र बैंक तथा वित्तीय संस्थाहरूबाट यस्तो कर्जा प्रवाह ३२ दशमलव ९८ प्रतिशतले वृद्धि भई कुल १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले बताएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लिएको लचिलो नीति र शेयरबजार सकारात्मक भएकाले बैंकको यो कर्जा बढेको हो । अहिले व्यक्तिगत लगानीकर्ताले शेयर धितो राखेर १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउँछन् भने संस्थागत लगानीकर्तालाई कुनै सीमा छैन । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्तामाथिको २० करोड रुपैयाँको सीमा हटाएको हो । 

राष्ट्र बैंकको नीतिको अतिरिक्त बैंक वित्तीय संस्थाहरूमा तरलता थुप्रिएको कारण पनि शेयर धितो कर्जामा भए पनि बैंकहरू लगानी गर्न अघि सरेका हुन् । 

लगानीकर्ता ताराप्रसाद फुल्लेल बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भएको कारण शेयर धितो कर्जा पाउन सहज भएको बताउँछन् । 

‘अहिले मागेअनुसारकै कर्जा दिने गरेका छन् । अहिले २ करोड रुपैयाँ कर्जा माग गर्दा बैंकले ४ करोडसम्म यस्तो कर्जा लिन आग्रह गर्छ,’ उनले भने । 

पोखरामा आधारित भएर शेयरबजारमा लगानी गर्दै आएकी लगानीकर्ता विष्णु पराजुली आफूले विकास बैंकहरूबाट सहजै यस्तो कर्जा प्राप्त गरिरहेको बताउँछिन् । ‘मैले आफ्नो क्षमताअनुसार जति माग गर्छु त्यत्ति नै पाइरहेकी छु,’ उनले भनिन्, ‘वाणिज्य बैंकबाट लिन खोजेको केही झन्झटिलो भयो, तर विकास बैंकहरूबाट फोनकै भरमा तुलनात्मक रूपमा सहज तरीकाले कर्जा प्राप्त हुन्छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।