काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफूले चाहेको कम्पनीलाई ठेक्का दिलाउन चेक लेनदेन गरेको आरोप लागेका बेला रद्द गरिएको जगदुल्ला जलविद्युत् आयोजना बनाउन पुन: बोलपत्र आह्वान भएको छ ।
उक्त परियोजना बनाउन स्थापित जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आइतवार सूचना निकालेर सिभिल र हाइड्रोमेकानिकलको कामका लागि ठेक्का आह्वान गरेको हो । इच्छुक कम्पनीले फागुन २१ सम्म आवेदन दिन सक्नेछन् । दुई साताअघि लेनदेन विवादबीच ठेक्का रद्द गरिएको थियो ।१०६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि मिलेमतोमा ऊर्जामन्त्री खड्काले चोहेको कम्पनीलाई ठेक्का दिलाउन मन्त्रालयभित्रै ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोप लागेको थियो । त्यसलगत्तै जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले उक्त बोलपत्र रद्द गरेको थियो । मन्त्री खड्काविरुद्ध अख्तियारमा पनि उजुरी परेको खबर छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले पहिलोपटकको ठेक्कामा आवेदन दिएका सबै कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि ठेक्का रद्द गरिएकाले अहिले नयाँ सूचना निकाल्नुपरेको बताए । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी जगदुल्ला हाइड्रोपावरले आयोजना बनाउन लागेको छ । सापकोटाका अनुसार हाई हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेशनल, पटेल इन्जिनीयरिङ, लामा कन्स्ट्रक्शनलगायतले आयोजना निर्माणका लागि प्रस्ताव पेश गरेका थिए ।
तर, मन्त्री खड्काले सबै कम्पनीलाई किनारा लगाएर हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन र एजीईलाई ठेक्का दिलाउने गरी अन्य ठेकेदारलाई रकम दिई मिलाउन खोजेको समाचार सार्वजनिक भएको थियो । सापकोटाले उक्त आरोप झूटो भएको दाबी गर्दै मूल्यांकन समितिले मूल्यांकन गर्दा सबै कम्पनी अयोग्य ठहरिएकाले ठेक्का रद्द गर्नुपरेको दाबी गरेका छन् ।
मन्त्री खड्काले समेत विभिन्न कार्यक्रममा आफूमाथि लागेको उक्त आरोप सरासर झूटो रहेको दाबी गर्दै आएका छन् । करीब २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको कम्पनीमा वित्तीय व्यवस्थापन भइसकेको छ । एचआईडीसीएल र कर्मचारी सञ्चय कोषले ४–४ अर्ब रुपैयाँ लगानी गर्नेछन् । बैंकहरूतर्फ लक्ष्मी सन्राइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।