काठमाडौं । गोल्यान पावर र भारतीय कम्पनी प्रोजिल ग्रीन इनर्जी नेपालले २ वर्षमा नेपालका विभिन्न स्थानमा ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने भएका छन् । गोल्यान पावर लिमिटेड र प्रोजिल ग्रीन इनर्जीबीचको संयुक्त उपक्रम ‘प्रोजिल ग्रीन इनर्जी नेपाल’ बुधवार काठमाडौंमा आयोजित प्रोजिल ग्रीन इनर्जी शिखर सम्मेलनमा औपचारिक रूपमा शुरू गरिएको हो । प्रोजिल ग्रीन इनर्जी दुई गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने भारतको सबैभन्दा ठूलो सोलार ईपीसी कम्पनी हो ।
कार्यक्रममा प्रोजिल ग्रीन इनर्जीका अध्यक्ष शोवित बैजनाथ रायले आगामी २ वर्षभित्र ५०० मेगावाट सौर्य ऊर्जा उत्पादनको लक्ष्य रहेको बताए । नेपालमा नवीकरणीय ऊर्जा उत्पादन गर्दै ऊर्जाक्षेत्रका रूपान्तरणमा सघाउनु कम्पनीको उद्देश्य भएको उनको भनाइ छ । यसले नेपालको कार्बन उत्सर्जन न्यूनीकरणको प्रयासमा टेवा पुग्ने भन्दै उनले उक्त सहकार्य महत्त्वपूर्ण एवं ऐतिहासिक आयाम भएको बताए ।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजना अगाडि बढाउन विभिन्न नीति ल्याइरहेको बताए । नियामक निकायको हैसियतले विद्युत् नियमन आयोगले पनि नयाँनयाँ नीतिमा काम गरिरहेको र यस क्षेत्रको प्रवर्द्धनमा अग्रसर रहेको उनको भनाइ थियो । उनले भने, ‘सरकार नवीकरणीय ऊर्जाका क्षेत्रमा र निजीक्षेत्रलाई सघाउन सधैं तयार छ । तपाईंहरूले लगानी बढाउँदै जाने विश्वास छ ।’
कार्यक्रममा विशेष अतिथि रहेका आयोग अध्यक्ष धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजना अघि बढाउन विभिन्न नीति ल्याइरहेको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले गोल्यान समूहसहितको कम्पनीले ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने विषयले ऊर्जा उत्पादक उत्साहित भएको बताए । निजीक्षेत्रको सक्रियतामा अबका केही वर्षमा नेपाल ऊर्जामा आन्तरिक उत्पादनबाटै आत्मनिर्भर हुन सक्ने अपेक्षा उनले गरे । नेपालमा जलविद्युत् क्षेत्रका लागि नीति बने पनि सौर्य ऊर्जाका लागि स्पष्ट नीति आउन नसकेको उनको भनाइ छ । त्यसका लागि सरकारले सौर्य ऊर्जालाई पनि प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।