सोमवार पनि घट्यो नेप्से, कारोबार रकम करीब ९ अर्ब

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । पछिल्लो तीन कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेको छ । पछिल्लो तीन कारोबार दिन नेप्से परिसूचक ३२ दशमदज १२ अंक घटेको हो । 

गत साताको अन्तिम कारोबार दिन बिहीवार ११ दशमलव १० अंक घटेको नेप्से आइतवार १० दशमलव ४१ अंक र सोमवार १० दशमलव ६१ अंक घटेको हो । 

गत साता चार कारोबार दिन बजार सकारात्मकरूपमा अघि बढ्दा २ हजार ५८८ दशमलव ६२ विन्दुदेखि २ हजार ६६५ दशमलव ४५ विन्दुसम्म कायम भएको थियो । 

यो बीचमा भएको नाफा बुक गर्दा पछिल्ला कारोबार दिन बजार प्रभावित बनेको ब्रोकरहरू बताउँछन् । धितोपत्र बजारप्रति लगानीकर्ता पछिल्लो समय दीर्घकालसम्म ढुक्क हुन सकेका छैनन् । केही दिन बजार बढेपछि लगानीकर्ता नाफा बुक गर्न सक्रिय हुने गरेको ब्रोकरहरूको भनाइ छ । 

सोमवारको कारोबारमा २ हजार ६५० दशमलव ७१ विन्दुसम्म पुगेको बजार २ हजार ६२५ दशमलव ५८ विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६३३ दशमलव २७ विन्दुमा बजार बन्द भएको छ । 

अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतवार ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको १ करोड ५७ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँभन्दा बढीको १ करोड ७२ लाख ५३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

सोमवार सिन्धु विकास बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २९ करोड ८३ लाख रुपैयाँभन्दा बढीको २ लाख ६२ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । 

सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २० रुपैयाँ १० पैसाले घटेको छ । यो दिन कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार १३८ रुपैयाँ ९० पैसा कायम भएको हो । 

घटेको बजारमा न्यादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ६४३ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै जानकी फाइनान्सको ९ दशमलव ९८ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र सामुदायिक लघुवित्तको ९ दशमलव ९६ प्रतिशत शेयर मूल्य बढेको छ ।  

सोमवारको कारोबारमा वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४६ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको शून्य दशमलव ७२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६७ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको हो । 

यो दिन बैंकिङ्को शून्य दशमलव ५५ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ५१ प्रतिशत, लगानीको शून्य दशमलव ७७ प्रतिशत, जीवन बीमाको १ दशमलव १० प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत, अन्यको १ दशमलव ६६ प्रतिशत र व्यापारिकको १ दशमलव ८३ प्रतिशत परिसूचक घटेको छ । 

परिसूचकमा आएको कमीलाई आधार मान्दा यस दिन व्यापारिक समूहका लगानीकर्ताको सम्पत्ति मूल्य सर्वाधिक घटेको हो । 

सोमवार कुल बजार पूँजीकरण ४३ खर्ब ६७ अर्ब ८० करोड २० लाख रुपैयाँ कायम भएको छ । आइतवार यो रकम ४३ खर्ब ८५ अर्ब ४९ करोड १४ लाख रुपैयाँ थियो । सोमवार कुल बजार पूँजीकरण १७ अर्ब ६८ करोड ९४ लाख रुपैयाँले घटेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।