महिला टी ट्वान्टी आई सिरिजमा एनसेल–क्यान सहकार्य, क्रिकेटमा महिलालाई प्रोत्साहन

Share News

काठमाडौं  । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्य अन्तर्गत यो खेलले नेपाली क्रिकेटप्रेमीलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको बताइएको छ । यो सिरिज अन्तर्गतको खेल बिहीवारदेखि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुरू भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई समर्थनका लागि क्यानले सम्पूर्ण खेलहरूको प्रवेश नि:शुल्क गरेको छ ।

सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् । बिहीवारको पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्यो, जसमा नेपाल पराजित भयो । अन्य खेलहरूमा नेपालले माघ १९ मा थाइल्याण्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्सविरुद्ध, माघ २२ मा थाइल्याण्डविरुद्ध, माघ २३ मा नेदरल्यान्ड्सविरुद्ध, र माघ २५ मा फेरि थाइल्याण्डविरुद्ध खेल्नेछ ।

नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दैछ । कप्तान इन्दुसँगै टिममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् ।

यो सहकार्य वृद्धि, विकास, नवप्रवर्तन र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ । ‘एनसेलले आफ्नो स्थापना कालदेखि नै एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा नेपालमा खेलकुद र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ,’ एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेल यस वर्षको नेपाल प्रिमियर लिगमा पावर्ड बाई पार्टनरको रुपमा आबद्ध भएको थियो । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि सहयोग प्रदान गर्दै आएको छ ।’ 

एनसेलले पाँचौं टाइगर कप, त्रिकोणत्मक टी ट्वान्टी आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरूलाई सहयोग र समर्थन गरिँदै आएको एनसेलले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।