काठमाडौं । सरकारको राजस्व संकलन कमजोर देखिएको छ । चालू आर्थिक वर्षको ६ महीनामा धेरैजसो शीर्षकमा लक्ष्यअनुसार राजस्व उठ्न नसकेको देखिएको छ ।
कर राजस्वतर्फ यो वर्ष सरकारले १२ खर्ब ८४ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ६ महीनामा ६ खर्ब २ अर्ब रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ४ खर्ब ८९ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । पुस मसान्तसम्मको राजस्व संकलन लक्ष्यको तुलनामा ८१ दशमलव २ प्रतिशत हो ।
भन्सार महशुलतर्फ पुससम्ममा १ खर्ब ४५ अर्ब संकलन लक्ष्य रहेकोमा १ खर्ब ७ अर्ब रुपैयाँमात्रै संकलन भएको छ भने मूल्य अभिवृद्धि करतर्फ १ खर्ब ८३ अर्बको लक्ष्यमा १ खर्ब ५४ अर्ब रुपैयाँ उठेको छ ।
अन्त: शुल्कतर्फ पनि सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको देखिँदैन । यो शीर्षकमा ६ महीनामा ९१ अर्ब ४३ करोड उठाउने लक्ष्य रहेकोमा ८३ अर्ब ३९ करोड रुपैयाँ उठेको छ । आयकरतर्फ पनि सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको ६ महीनामा आयकर शीर्षकमा १ खर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य रहेकोमा १ खर्ब ४१ अर्ब रुपैयाँ उठेको छ । शिक्षा सेवा शुल्क भने लक्ष्यभन्दा बढी उठेको छ ।
लक्ष्यअनुसार राजस्व संकलन नहुनुमा उद्योगी व्यापारीहरू दैनिक उपभोग्य वस्तु आयातमा लाग्ने चर्को भन्सार महशुललाई दोष दिन्छन् । चर्को भन्सार महशुलका कारण चोरी पैठारी बढ्दा लक्ष्यअनुसार सरकारी लक्ष्य अनुसार राजस्व संकलन नभएको उनीहरूको तर्क छ ।
हालै विराटनगर भन्सार कार्यालयमा आयोजित प्रतिनिधिसभाको अर्थ समितिका पदाधिकारी सम्मिलित अन्तरक्रियामा उनीहरूले सरकार राजस्वमुखी भएर चिनी, सुती कपडा, चिउरा, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अत्यधिक भन्सार शुल्क राख्दा तस्करी बढेको र त्यसैका कारण भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको बताएका थिए । ती वस्तुको भन्सार महशुल कम गरेर वस्तुहरू भन्सार नाकाबाटै आउने वातावरण बनाउन उनीहरूले अर्थ समितिलाई सुझाएका छन् ।
सरोकारवालाले कतिपय सामान भन्सार नाकाबाट आयातै नभए पनि बजारमा छ्यापछ्याप्ती पाइएको र सरकारी नीतिका कारण अर्बौं रुपैयाँ राजस्व चोरी पैठारीमार्फत चुहिएको उल्लेख गरेका थिए ।
अर्थ मन्त्रालयका अधिकारीहरूले भने बाढीपहिरो, पेट्रोलियम पदार्थको आयात घट्नु र इन्धनबाट चल्ने सवारीसाधनको आयात प्रभावित हुनुलाई लक्ष्यअनुसार राजस्व संकलन नहुनुको कारण मानेका छन् ।
माघ पहिलो हप्ताको एक पत्रकार भेटघाटमा अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढीपहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयात प्रभावित हुनु, विद्युतीय सवारीसाधनको आयात बढ्नु, दूरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारे पनि चालू आर्थिक वर्षको ६ महीनामा उल्लेखनीय रूपमा राजस्व संकलन भएको बताएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।