फलामे स्ल्यागको भुटान निकासी बन्द, एचएस कोड परिवर्तन पछि निकासी ठप्प

Share News

विराटनगर । वस्तु वर्गीकरणको हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) हेरफेर गरिएपछि नेपालका २० ओटा फलाम उद्योगबाट निस्किएको ६० हजार मेट्रिक टन फलामको स्ल्याग/धूलो भुटान निकासी रोकिएको छ । एउटा उद्योगले २ देखि ३ करोड रुपैयाँ बराबरको फलामको स्ल्याग निकासी गर्दै आएको थियो । फलामको बिलेटलाई तताएर पिट्दा निस्कने पातलो पाप्रा स्ल्याग हो । नेपालमा यसको उपयोग हुँदैन । तर, भुटानले सिमेन्टमा प्रयोग गर्न नेपाल, भारत र बंगलादेशबाट स्ल्याग आयात गर्ने गरेको छ । 

पहिले २६१८.०० एचएस कोडबाट निकासी हुँदै आएको फलामको स्ल्यागको कोड परिवर्तन गरी भन्सार विभागको वर्गीकरण तथा पुनरवलोकन शाखाले ७२०४.४१ कायम गरेपछि उद्योगहरूबाट भइरहेको यसको निकासी ठप्प भएको हो । नेपाल फलामे छड उत्पादक संघले मेची भन्सार कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरानै एचएस कोडअन्तर्गत निकासी गर्न पाउनुपर्ने माग राखेको छ । 

  •  वार्षिक ६० हजार टनसम्म निकासी भएको सरकारी तथ्यांक 
  •  नेपालमा प्रयोग नहुने उक्त वस्तुलाई यहाँ फोहोर मानिन्छ र व्यवस्थापन गर्नै समस्या 
  •  प्रतिकिलो ६ रुपैयाँ मूल्यको फलामे स्ल्याग निकासी गर्दा प्रतिकिलो १० रुपैयाँ भन्सार 
  •  एचएस कोड सच्याएर निकासी सुचारु हुने वातावरण बनाउन फलाम उद्योगीको माग 

एचएस कोड २६१८.०० मा परेको वस्तु निकासी गर्दा भन्सार लाग्दैन । परिवर्तन गरिएको कोड नम्बर ७२०४.४१ बाट गर्दा प्रतिकिलो १० रुपैयाँ भन्सार तिर्नुपर्छ । जबकि यसको मूल्य नै प्रतिकिलो ६ रुपैयाँ रहेको मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । यहाँ प्रयोग नहुने उक्त वस्तुलाई यहाँ फोहोर मानिने र त्यसको व्यवस्थापन नै समस्याका रूपमा रहेको उनले बताए । सरकारले निकासीमा त्यस्ता वस्तुलाई झन् प्रोत्साहन गर्नुपर्नेमा एचएस कोड नै परिवर्तन गरी भन्सार शुल्क लागू गर्नु अनुचित भएको राठीको धारणा छ ।

नेपाल फलामे छठ उत्पादक संघका अध्यक्ष तथा अम्बे स्टीलका सञ्चालक हरि न्यौपानेले उद्योगले फ्याँक्नुपर्ने र राज्यले सफा गर्नुपर्ने वस्तुको निकासीबाट थोरै भए पनि उद्योगहरूले विदेशी मुद्रा आर्जन गरिरहेकोमा मूल्यभन्दा बढी राजस्व राखेर निरुत्साहित गर्न नहुने बताए । आफूहरूले एचएस कोड सच्याएर निकासी सुचारु गराउन मेची भन्सार कार्यालयलाई ध्यानाकर्षण पत्र पठाए पनि समस्या समाधान नभएको उनले उल्लेख गरे ।

मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले फलाम उद्योगीले बुझाएको पत्र सक्कलै आफूले भन्सार विभाग पठाएको तर त्यसको कार्यान्वयनको जानकारी नआएको उल्लेख गरे । विगतमा गइरहेको वस्तु अहिले रोकिनुपर्ने जस्तो नदेखिएको उनको भनाइ छ । 

मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष (आव) २०७९/८० मा फलामको स्ल्याग/धूलो शीर्षकमा ३५ करोड ९२ लाख ६२ हजार रुपैयाँ मूल्यको २३ हजार ८६० मेट्रिक टन र आव २०८०/८१ मा ३४ करोड ५९ लाख १ हजार रुपैयाँ मूल्यको २४ हजार ५२३ मेट्रिक टन फलामको पाप्रा/स्ल्याग निकासी भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवमा भन्दा ६६३ मेट्रिक टनले निकासी घटेको छ । 

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले उद्योगी व्यवसायीले समयमै जानकारी गराएको भए सच्याउन सकिने अवस्था रहेको तर अब भने केही समय कुर्नुपर्ने बताए । 

निकासी नहुँदा त्यो फलामको स्ल्याग या धुलोले यहाँ फोहोर मात्रै फैलाउने र वातावरणीय हिसाबले निकासी प्रोत्साहन गर्नुपर्ने वस्तु भएको उनले बताए । त्यसलाई उपशीर्षक दिएर मिलाउन सकिने उनको भनाइ छ । आर्थिक ऐनमा पहिले नै उपशीर्षक राखेर मिलाउन सकिने भए पनि अब वैशाखसम्म धैर्य गर्न उनले आग्रह गरे । 

विराटनगर भन्सार कार्यालयबाट आव २०७९/८० मा ४ करोड ३० लाख ३५ हजार रुपैयाँ मूल्यको १५७ मेट्रिक टन र २०८०/८१ मा ४ करोड ९२ लाख ६८ हजार मूल्यको २४३ मेट्रिक टन फलामको स्ल्याग निकासी भएको सरकारी तथ्यांकले देखाउँछ । चालू आवको ६ महीनामा ५ करोड ६६ लाख ९४ हजार रुपैयाँ मूल्यको २७८ दशमलव ४६ मेट्रिक टन फलामबाहेकको धातुको अवशेषको निकासी भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।