स्वास्थ्य उपचारको हक माग्दै वीरगञ्जको नागरिक समाज सडकमा

Share News

वीरगञ्ज। संविधानप्रदत्त स्वास्थ्य उपचारको हक माग्दै वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्जको नारायणी अस्पताल भवन निर्माणमा भइरहेको ढिलाइको विरोध गर्दै नागरिक समाजका अगुवाहरू आन्दोलित भएका हुन् । सो अस्पताल भवन निर्माणको प्रक्रिया ५ वर्षदेखि अलपत्र परेपछि नागरिक समाजले चरणबद्ध दबाब अभियान चलाएको हो ।

वीरगञ्जका विभिन्न पेशागत संघसंस्था, राजनीतिक दल, नागरिक अगुवाहरूको सहभागितामा अस्पतालबाटै निस्किएको र्यालीले नगर परिक्रमा गरेको छ । र्याली वीरगञ्जको घण्टाघरमा पुगेर कोणसभामा परिणत भयो । यसअघि गत हप्ता अस्पतालका चिकित्सक र स्वाथ्यकर्मीले अस्पतालअगाडि राजमार्गमा प्रदर्शन गरेका थिए ।

वीरगञ्ज महानगरका पूर्वप्रमुख विजयकुमार सरावगीले ५०० शøयाको अस्पताल भवन निर्माण भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सरकारले वीरगञ्ज स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । पूर्व प्रदेशसभा सदस्य राजेश्वर साहले नारायणी अस्पतालको भवन निर्माण नहुँदा स्थानीयको स्वास्थ्य सेवामा खेलवाड भइरहेको भन्दै छिटो भवन निर्माण अघि बढाउन माग गरे ।

नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले वीरगञ्ज र आसपासका क्षेत्रका लाखौं बासिन्दाको स्वास्थ्यको सरोकारसँग जोडिएको अस्पतालको पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ वीरगञ्जकै लागि लज्जाको विषय भएको बताए । वीरगञ्जमा स्वास्थ्य सेवाको अवस्था सुधार्न स्थानीय राजनीतिक नेतृत्व आवश्यकताजति गम्भीर नभएको अध्यक्ष खनालको भनाइ थियो । दबाब अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए ।

अधिवक्ता पन्नालाल प्रसादले सरकार वीरगञ्ज क्षेत्रका पूर्वाधार विकास र विस्तारमा राज्य उदासीन देखिएको बताए । डाक्टर उदयनारायण सिंहले अस्पताल भवन निर्माणका लागि चरणबद्ध आन्दोलन अघि बढाउन र अनसन नै बस्नुपरे पनि आफूहरू तयार रहेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।