नेप्सेसँगै घट्यो कारोबार रकम, ६ अर्ब ९६ करोड बराबरको कारोबार हुँदा सर्वाधिक हिस्सा नेपाल रिपब्लिक मिडियाको

Share News

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से १० दशमलव ९८ अंक घटेर २ हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब ३९ करोड बराबरको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडमा झरेको हो ।  आजसँगै बजार लगातार पाँच कारोबार दिन घटेको हो । 

नेप्से पुनः २७ सय विन्दु मुनिआएपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा सूचकसहित कारोबार रकम प्रभावित भएको छ ।

यसअघि दैनिक औसत ११ अर्बभन्दा माथि पुगेको कारोबार रकम अहिले घटेको छ । 
पटकपटक बजार २७ सय विन्दुको लेबललाई पार गरेर माथितिर जान पनि सकेको छैन भने सोही विन्दुमा टिक्न सकेको छैन ।

जसका कारण लगानीकर्ताको मनोबल कमजोर भएको देखियो । विगतमा पनि सोही विन्दुमा पुगेपछि बजार घट्ने गरेकाले २७ सय पुग्ने बित्तिकै विक्रेता हाबी भएका छन् । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३४ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत,सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २७ प्रतिशत घटेको छ । 

३२२ धितोपत्रको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर ७४ हजार ८६४ पटकमा रू. ६ अर्ब ९६ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । न्यादी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू. ८१४ र गार्डियन माइक्रो लाइफको रू. ३६४ दशमलव २० पुगेको छ । 

सोमवार दुई कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । बोटलर्स नेपाल बालाजुको शेयर मूल्य प्रतिकित्ता रू. १७ हजार ६०४ र उपकार लघुवित्तको रू. ५ हजार ६७० मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल रिपब्लिक मिडियाले ओगटेको छ । यस कम्पनीको रू. २४ करोड २४ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ६०३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिइडिबि होल्डिङ्सको रू. १५ करोड ३८ लाख बराबरको करोबार भएको छ । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । अन्य समूहको शून्य दशमलव २३ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक २ दशमलव ०७ प्रतिशत घटेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।