काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ६ दशमलव ५४ अंक बढेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक लगातार पाँच कारोबार घटेपछि आज बढेर बन्द भएको हो ।
बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब ९६ करोड बराबरको कारोबार भएकोमा आज बढेर रू. ७ अर्ब २४ करोड पुगेको हो । केही दिनदेखि घटेको बजारमा खरीदकर्ता आकर्षित भएसँगै आज बजार बढेको जानकार बताउँछन् ।
नेप्सेले २ हजार ६७० देखि २ हजार ६८१ को विन्दुमा टेवा पाएर माथि जान खाेजेको प्राविधिक विश्लेषक बताउँछन् । नेप्से २६ सयको तहमा आए पनि खासै ठूलो उतारचढाव भने देखिएको छैन । यो समयमा लगानीकर्ता मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेको पनि देखिन्छ ।
समीक्षामार्फत बजार अघि बढाउनका लागि थप नीतिगत सहुलियत प्राप्त हुने आशामा रहेको एक लगानीकर्ताले बताए । यसो त यसअघि नै कसिएका धेरै नीति नियमहरु खुकुलो भइसकेका पनि छन् । तर शेयर धितो कर्जाको जोखिमभार बढी छ । त्यस्तै व्यक्तिगत लगानीकर्तालाई शेयर धितो कर्जामा १५ करोडको सीमा यथावत् छ । यी प्रावधानमा सहजता भए बजारले गति लिन सक्ने लगानीकर्ताको भनाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ३० प्रतिशत बढेको छ ।
आज २९९ धितोपत्रको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर ७२ हजार ९४ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर, भवगती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सिक्लेस हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५८ दशमलव ५०, भगवती हाइड्रोपावरको रू. १ हजार १८७, रसुवागढी हाइड्रोपावरको रू. ४८७ दशमलव ३० र गार्डियन माइक्रो लाइफको रू. ४०० दशमलव ६० पुगेको छ ।
मंगलवार भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८४९ मा झरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव २९ प्रतिशत घटेर रू. ५ हजार २ सयमा कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिइडिबी होल्डिङ्गसले ओगटेको छ । यस कम्पनीको रू. ३६ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ११५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा न्यादी हाइड्रोपावर छ । कम्पनीको रू. ३५ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये विकास बैक समूहको सूचक सबैभन्दा बढी २ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०५ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।