पोखरा भ्रमण वर्ष’ घोषणा समारोह, असावधानीले घट्यो घटना

Share News

काठमाडौं । २० लाख आन्तरिक पर्यटक भित्त्याउने लक्ष्य लिएको ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोहमा ‘सावधानी नअपनाउँदा’ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य दुर्घटनामा परेका छन् । 

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगरप्रमुख आचार्य जलनमा परेका थिए । घटनापछि हेलिकोप्टरमा काठमाडौं ल्याइएका दुवैको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा घाइते पौडेल र आचार्यलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

कीर्तिपुर अस्पतालले दिएको जानकारीअनुसार अर्थमन्त्री पौडेल र महानगरप्रमुख आचार्यको अनुहार ५–६ प्रतिशत जलेको छ । अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता छ ।

‘प्रारम्भिक मूल्यांकनअनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अस्पतालले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अर्थमन्त्री पौडेलको बायाँ हातमा र महानगरप्रमुख आचार्यको अनुहार पनि आगोले पोलिएको छ । उनीहरूको उपचारमा सघन उपचार कक्षको टोली, जलन विशेषज्ञहरूको टोली, आकस्मिक उपचार टोलीलगायतको नर्सिङ टोली खटिएको अस्पतालले बताएको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काका अनुसार घटनापछि आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मीसमेतले उद्धार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो । खड्काका अनुसार पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुवैलाई तुरुन्त बर्न अस्पताल पुर्याउन सुझाव दिए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुवै जनालाई काठमाडौं ल्याइयो । पौडेल र आचार्य दुवै जनालाई काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरियो । 

कसरी भयो दुर्घटना ? 

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काका अनुसार उद्घोषक मञ्चमा भट्याउँदै गर्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र भ्रमण वर्षकै लोगो अनावरण गर्न खोज्दै थिए । प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘स्पार्क मेशिन’ चलाइएको थियो । त्यसैको नजिक अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो ।

‘यो विज्ञान र प्रविधिको शताब्दी हो, अहिले एआई (कृत्रिम बौद्धिकता)ले धेरै फड्को मारिरहेको बेलामा हामी कम्तीमा प्रविधिमा जानुपर्छ । यहाँहरूले ठाउँठाउँबाट प्रज्वलन भएको देखिरहनुभएको छ । स्वीच अन भइसकेको छ, जोडदार ताली...त्यहाँ पानस माथि उठिरहेको छ र...बल्यो । ताली ताली...जोडदार तालीका साथ...पोखरा भ्रमण वर्षको हामी लोगो अनावरण गर्दै छौं । यसलाई पनि स्वीच अन गरेर...यो यो...हामी...’ उद्घोषकले भन्दै थिए ।

मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुनको एक–एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँबायाँ, अघिपछि चारैतिर स्पार्क मेशिनले आगो ओकलिरहेको थियो । उद्घोषकको बोली एकाएक रोकियो । भ्रमण वर्षको लोगो झुन्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरद्वयले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन विस्फोट भइसकेको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।  आगोको लप्कामै परेर जलेको अनुहार लिएर उनीहरू मञ्चमा कुद्न थाले ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।