बीमा कम्पनीको लगानी

Share News

बीमा कम्पनीहरूले बैंकको मुद्दती खातामा निक्षेप राख्नुका अतिरिक्त विभिन्न क्षेत्रमा लगानी गर्न पाउँछन् । बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा लगानीका लागि प्रोत्साहित गरे पनि ती उत्पादनमूलक क्षेत्रमा लगानी गरेको कमै पाइएको छ । कम्पनीहरूले जति आफ्नो लगानीलाई विविधीकरण गर्छन् त्यति जोखिम पनि कम हुन्छ । नेपालमा लगानी विविधीकरणतर्फ बीमा कम्पनीहरूले सोच्न ढिला भइसकेको छ र यसका लागि नियामक निकायले थप बाटो खोल्नुपर्छ । 

बीमा कम्पनीहरूले लगानी गर्ने विभिन्न उपकरणमध्ये धितोपत्र पनि एक हो । तथ्यांकअनुसार १२ निर्जीवन बीमा कम्पनीहरूले गत पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा ४ अर्ब ३९ करोड रुपैयाँभन्दा धेरै लगानी गरेका छन् जुन २६ दशमलव ३२ प्रतिशतले बढेको देखिन्छ । 

त्यस्तै, यही अवधिमा १३ जीवन बीमा कम्पनीले २५ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि लगानी गरेका छन् । यस्तो लगानी ३४ दशमलव ७४ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको साधारण शेयरमा बढीमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर, कम्पनीहरूले अहिलेसम्म निर्देशिकाअनुसार लगानी विविधीकरण गर्न सकेका छैनन् । 

कम्पनीहरूले तीन तहको सरकार र राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २५ प्रतिशतसम्म र वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर, तिनको अधिकांश लगानी बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपपछि ऋणपत्र र शेयरबजारमा मात्र केन्द्रित छ । 

निक्षेपमा लगानी गर्नु भनेको सबैभन्दा सुरक्षित क्षेत्र हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् भने जीवन बीमा कम्पनीहरूले ४ खर्ब ९९ अर्ब रुपैयाँ लगानी गरेका छन् । यसरी बैंकमा निक्षेप राख्दा बीमा कम्पनीको मुनाफा धेरै नहुने मात्र होइन, ठूलो रकम निष्क्रिय भएर बस्छ । 

बैंकपछि धेरै पूँजी जम्मा हुने संस्थामध्ये बीमा कम्पनी हो । त्यो रकमको लगानीमा विविधीकरण गर्न आवश्यक छ । अन्य देशको अभ्यास हेर्दा बीमा कम्पनीहरूले रियल इस्टेट, विभिन्न पूर्वाधारहरू आदिमा लगानी गरेको पाइन्छ । नेपालमा सिटी सेन्टरमा बाहेक अन्यत्र यस्तो लगानी भएको पाइँदैन । यस क्षेत्रमा बीमा कम्पनीको लगानी शून्य छ । 

त्यस्तै उच्च प्रतिफल प्राप्ति हुने प्राइभेट इक्विटीमा पनि तिनले लगानी गर्छन् । लामो अवधिमा सार्वजनिक बजारभन्दा उच्च प्रतिफल दिने भएकाले यस्तो क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ । तर, नेपालका बीमा कम्पनीहरूले यो बजारमा ध्यान दिएको पाइँदैन । 

अहिले ब्याजदर न्यून विन्दुमा झरेको छ । कर्जाको माग बढी भएका बेला संस्थागत निक्षेपकर्ताका नाताले बढी ब्याज पाए पनि त्यो अन्य क्षेत्रमा गरेको लगानीभन्दा कमै हुन्छ । अहिले त ब्याजदर कम भएकाले कम्पनीको मुनाफा प्रभावित हुनु स्वाभाविक हो । निजी इक्विटीमा गरिएको लगानी लामो अवधिको हुन्छ । तत्काल मुनाफा आउँदैन तर त्यसले प्रतिफल उच्च दिने भएकाले जीवन बीमा कम्पनीहरूको दायित्व र जोखिम व्यवस्थापन गर्न सहयोगी हुन्छ । 

नेपालमा बीमा गर्नु भनेको बाध्यकारी बचत मात्रै हो भन्ने सोच धेरैमा पाइन्छ । कम्पनीहरूले दिने बोनस दर कम हुँदा नै यस्तो सोच आएको हो । कम प्रिमियममा बढी बोनस दर दिन सक्ने गरी कम्पनीहरूले लगानी विविधीकरण गर्न सक्ने हो भने बल्ल बीमा व्यवसाय सही बाटोमा अघि बढेको मानिन्छ । यसका लागि बीमा कम्पनीहरूले जोखिम लिन सक्नुपर्छ तर त्यसका लागि कम्पनीहरूसँग क्षमतावान् जनशक्तिको कमी देखिन्छ । 

नियामक बीमा प्राधिकरणले कृषि, उत्पादन तथा वितरण, जलविद्युत् आदि क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न दिएको छ तर यसमा कम्पनीहरूले लगानी नै गरेका छैनन् । त्यस्तै, घरजग्गामा पनि लगानी हुन सकेको छैन । इन्भेष्टमेन्ट कम्पनी, सूचीकृत नभएका पब्लिक कम्पनीमा पनि लगानी खुला गरिएको छ तर लगानी भएको छैन । यस्ता क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनाइनु आवश्यक छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।