सात कारोबार दिनपछि पुनः २७ सय विन्दुमाथि नेप्से, १० अर्ब ४ करोड बराबरको कारोबार हुँदा सर्वाधिक हिस्सा नेपाल रिइन्स्योरेन्सको

Share News

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार १ दशलमव १० प्रतिशत बढेर पुन: २७ सय विन्दुमा पुगेको छ । यससँगै नेप्से २ हजार ७२७ दशमलव ९१ विन्दुमा पुगेको हो । सात कारोबार दिनपछि नेप्से पुन: २७ सय विन्दुमाथि बन्द भएको हो । यसभन्दा अगाडि माघ २३ गते नेप्से २ हजार ७११ दशमलव ४५ विन्दुमा बन्द भएको थियो । 

बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ९ अर्ब ४७ करोड बराबरको कारोबार भएकोमा आज बढेर रू. १० अर्बभन्दा बढीको कारोबार भएको छ । 

सोमवार बैंकिङ्ग समूहगत बढेपछि कारोबार रकमसहित सूचक बढेको हो । बैंक समूह २ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । आज सानो टुप्पी भएको हरियो मैनबत्ती बनेको छ । यसले आगामी दिन बजार बढ्ने सङ्केत देखाउँछ ।

बजार बढ्दा भोल्यूमले समेत साथ दिएको छ । बजार २ हजार ७८० देखि २ हजार ७९५ को विन्दुमा टिक्न सफल भएमा २८ सय विन्दु माथि जाने सम्भावना देखिन्छ  । 

सोमवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ३८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव २८  प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ४३ प्रतिशत वृद्धि भएको छ । 

आज ३०२ धितोपत्रको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर १ लाख २ हजार ८६१ पटकमा रू. १० अर्ब ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये ६ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

सोमवार सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २६८ दशमलव १० मा झरेको छ । दोस्रोमा कुमारी सबल योजनको इकाई मूल्य ६ प्रतिशत घटेर रू. ९ दशमलव २४ कायम भएको छ । 

आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३२ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ११ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिईडिबि होल्डिङ्गसको रू. २७ करोड ४३ लाख बराबरको कारोबार भएको हो । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी २ दशमलव ४७ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशलमव २७ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।