व्यापार घटेसँगै उत्पादन क्षेत्रका चार कम्पनी घाटामा

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका नौ कम्पनीमध्ये चारओटा चालू वर्षको दोस्रो त्रैमाससम्म घाटामा छन् ।  

चालू आर्थिक वर्ष (आव) २०८१/८२ को दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (तराई), सोनापुर मिनरल्स एन्ड आयल, बोटलर्स नेपाल (बालाजु) र घोराही सिमेन्ट घाटामा रहेको सम्बद्ध कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । 

युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र नेपाल ल्युब आयल भने नाफामा सञ्चालित छन् ।

घोराही सिमेन्ट सर्वाधिक ६६ करोड ७१ लाख रुपैयाँ घाटामा छ । यस कम्पनीको आम्दानी सामान्य वृद्धि भए पनि वित्तीय खर्च बढेका कारण बढी घाटामा गएको वित्तीय विवरणले देखाउँछ । गत आवको ६ महीनासम्ममा कम्पनीको वित्तीय खर्च २६ करोड ५६ लाख रहेकोमा चालू वर्ष सोही अवधिमा बढेर ४८ करोड ७ लाख रुपैयाँ पुगेको छ । 

कोकाकोला, फन्टा र स्प्राइटजस्ता पेय पदार्थ बोटलिङ गर्ने बोटलर्स नेपाल (बालाजु) दोस्रो धेरै घाटामा रहेको कम्पनीमा पर्छ । उक्त कम्पनी चालू वर्षको दोस्रो त्रैमाससम्ममा २४ करोड ५० लाख रुपैयाँ घाटामा छ । 

बोटलर्स नेपाल (तराई) पनि ११ करोड ८९ लाख घाटामा छ । अघिल्लो आवको दोस्रो त्रैमासमा पनि यो कम्पनी ७ करोड ४१ लाख रुपैयाँ घाटामा थियो । चालू वर्ष यस कम्पनीको सञ्चालन आम्दानी (व्यापार) गत वर्षको तुलनामा १९ दशमलव ५१ प्रतिशत घटेको छ । उत्पादिन वस्तु बजारमा कम विक्री हुँदा कम्पनीको आम्दानीमा संकुचन आएको हो । 

सोनापुर मिनरल्स दोस्रो त्रैमाससम्ममा १२ करोड २० लाख रुपैयाँ घाटामा छ । तर यो नोक्सानी केही घटेको पनि छ । गत आवको सोही अवधिमा कम्पनीको घाटा १४ करोड ७८ लाख रुपैयाँ थियो ।

सञ्चालन आम्दानी बढेकाले कम्पनीको घाटामा सुधार आएको हो । गत आवको दोस्रो त्रैमासमा ७० करोड ५६ लाख आम्दानी गरेकोमा चालू वर्षको सोही अवधिमा बढाएर आम्दानी ९१ करोड ५८ लाख रुपैयाँ पुर्याएको छ । 

नाफामा रहेका ५ कम्पनीमध्ये शिवम् सिमेन्टको नाफा गतवर्ष पहिलो ६ महीनाको तुलनामा यस वर्ष ६१ दशमलव ७७ प्रतिशत घटेको छ भने बाँकी युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, सर्वोत्तम सिमेन्ट र नेपाल ल्युब आयलको नाफा वृद्धि भएको छ । 

प्रतिशतका आधारमा सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको नाफा ६८९ प्रतिशत बढेको छ । गतवर्ष दोस्रो त्रैमाससम्ममा यस कम्पनीले ३ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष बढाएर २४ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको सञ्चालन आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । 

कम्पनी  खुद नाफा (रू. हजार) घटबढ प्रतिशत  सञ्चालन आम्दानी (रू. हजार)  घटबढ प्रतिशत 
चालू आवको दोस्रो त्रैमास  गत आवको दोस्रो त्रैमास  चालू आवको दोस्रो त्रैमास गत आवको दोस्रो त्रैमास
युनिलिभर नेपाल  477,800 421,000 13.49 1,945,600 1,845,700 5.41
हिमालयन डिस्टिलरी  404,919 163,655 147.42 3,032,232 1,898,816 59.69
सर्वोत्तम सिमेन्ट 241,405 30,587 689.24 3,982,254 2,929,448 35.94
शिवम् सिमेन्ट  56,810 148,597 -61.77 3,101,696 3,519,981 -11.88
नेपाल ल्युब आयल 21,962 7,865 179.24 549,671 517,645 6.19
घोराही सिमेन्ट -667,103 -418,438 - 1,731,953 1,712,494 1.14
बोटलर्स नेपाल (बालाजु)  -245,042 -151,578 - 4,364,352 4,583,125 -4.77
सोनापुर मिनरल्स एन्ड आयल  -122,085 -147,853 - 915,805 705,698 29.77
बोटलर्स नेपाल (तराई) -118,941 -74,155 - 2,968,695 3,688,350 -19.51

स्रोत : सम्बद्ध कम्पनीको वित्तीय विवरण ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।