हनोई (भियतनाम) । भियतनामको राष्ट्रियसभाले मंगलवार सरकारलाई संगठित गर्नेसम्बन्धी ऐनमा गरेको संशोधन पारित गरेको छ ।
उक्त ऐनको संशोधनमा सरकारी कर्मचारी र मन्त्रालयको संख्या घटाउने, सरकारी कार्यकुशलतामा सुधार गर्नेलगायत उल्लेख छ । उक्त कानून बैठकमा उपस्थित ९७ प्रतिशतभन्दा बढी सांसदले अनुमोदन गरेका हुन् । उक्त ऐनको संशोधनमा राज्य संयन्त्रका १५ देखि २० प्रतिशतसम्म कर्मचारी कटौती गरिने उल्लेख छ ।
यस्तै, मन्त्रालयको संख्या १८ बाट घटाएर १४ मा झारिनेछ । यसका लागि केही मन्त्रालय मर्ज गरिनेछन् । जसअनुसार योजना तथा लगानी मन्त्रालय अर्थ मन्त्रालयमा गाभिनेछ भने यातायात मन्त्रालय र निर्माण मन्त्रालय मर्ज हुनेछन् । यस्तै प्राकृतिक स्रोत तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालयलाई गाभिने भएको छ ।
उक्त योजना आगामी मार्च १ (फागुन १७) देखि लागू हुने बताइएको छ ।
प्रधानमन्त्री फाम मिन्ह चिनले सन् २०२५ का लागि भियतनामको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उक्त कदमलाई महत्वपूर्ण मानेका छन् ।
भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीका महासचिव तो लामले गत साता संसद्मा भनेका थिए, ‘यो कदमले राज्यको पैसा बचत गर्ने मात्र होइन, प्रणालीको दक्षता बढाउनेछ ।’
उक्त कदमको लगानीकर्ता, कूटनीतिज्ञ र अधिकारीहरूले स्वागत गरेका छन् । तर, तत्कालका लागि केही प्रशासनिक ढिलाइ हुनसक्नेमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
भियतनामको सरकारी सञ्चारमाध्यमले गत महीना कर्मचारीतन्त्रको पुनर्संरचनाले राज्यका एक लाख अधिकारीलाई असर गर्ने जनाएको थियो । यसबारे विस्तृत विवरण भने दिइएको थिएन ।
उपप्रधानमन्त्री गुयेन होआ बिन्हलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले भनेको छ, ‘खराब प्रदर्शन गर्ने कर्मचारीलाई प्रणालीबाट हटाउनुपर्छ । राज्यका निकायहरू अक्षम अधिकारीहरूका लागि सुरक्षित आश्रयस्थल हुनुहुँदैन ।’ रोयटर्सको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।