काठमाडौं । यो वर्षको फेब्रुअरीमा पर्यटक आगमन घटेको देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ फेब्रुअरीको तुलनामा गत महीना पर्यटन आगमन ०.५६ प्रतिशतले घटेको हो ।
गत वर्षको फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको सोही महीनामा ९६ हजार ८८० पर्यटक नेपाल आएका छन् ।
कोरोना महामारीपछि सुस्ताएको पर्यटक आगमन अझै कोरोनाअघिको लयमा फर्कन सकेको छैन । गत महीना नेपाल भित्रिने पर्यटकको संख्या कोरोनाअघिको भन्दा ५ हजार ५४३ ले कम हो । कोरोनाअघि सन् २०१९ फेब्रुअरीमा भने १ लाख २ हजार ४२३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०१९ डिसेम्बरमा चीनमा देखिएको कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रूप लिएको थियो । जसका कारण त्यसपछिका वर्षमा नेपाललगायत देशमा पर्यटन आगमन प्रभावित भएको थियो । तर, महामारीको प्रकोप नियन्त्रणमा आउन थालेपछि विस्तारै पर्यटक आगमन बढ्न थालेको छ ।
दक्षिण एशियाली देशबाट आउने धेरै
गत महीना दक्षिण एशियाली देशहरूबाट सर्वाधिक पर्यटक आएका छन् । सो अवधिमा ती देशहरूबाट ३० हजार १९६ पर्यटक नेपाल आएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सो अवधिमा एशिया (दक्षिण एशिया बाहेक)बाट २८ हजार ९८ पर्यटक, युरोपबाट १५ हजार ९७१, अमेरिकी देशहरूबाट १२ हजार ५६०, अफ्रिकाबाट ४ हजार ८९५, ओशानियाबाट ३ हजार ९६१ र मध्यपूर्वबाट ८७९ जना पर्यटक नेपाल आएका छन् ।
भारतबाट घटे, अमेरिकाबाट बढे
गत महीना देशका आधारमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । सो अवधिमा भारतबाट १९ हजार १८७ जना नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको फेब्रुअरीको तुलनामा भने ६ हजार ३९१ ले कम हो । गत वर्षको फेब्रुअरीमा २५ हजार ५७८ पर्यटक नेपाल आएका थिए ।
भारतपछि संयुक्त राज्य अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या धेरै छ । गत महीना संयुक्त राज्य अमेरिकाबाट १० हजार ३४८ पर्यटक नेपाल आएका छन् । गत वर्षको फेब्रुअरीको तुलनामा अमेरिकाबाट पर्यटक आगमन बढेको देखिन्छ । गत वर्षको फेब्रुअरीमा अमेरिकाबाट ९ हजार ८९ पर्यटक नेपाल आएका थिए ।
गत महीना नेपाल आउने पर्यटकमध्ये चिनियाँको संख्या सर्वाधिक तेस्रो छ । बोर्डको तथ्यांकअनुसार गत फेब्रुअरीमा चीनबाट ८ हजार २२३ पर्यटक नेपाल आएका छन् । गत वर्षको फेब्रुअरीमा भने चीनबाट ९ हजार १८० पर्यटक भित्रिएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।