चिनियाँ पर्यटक नबढ्नुका कारण

Share News

नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको उपलक्ष्यमा चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरे पनि त्यहाँबाट नेपाल आउने पर्यटकको संख्यामा भने खासै वृद्धि देखिएको छैन । नेपालमा ५ लाख पर्यटक पठाउने भनिएको भ्रमण वर्षको शुरूका २ महीनामा जम्मा १६ हजार ४७४ चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ जन गत वर्षको यही अवधिको तुलनामा केही मात्र बढी हो । किन चिनियाँ पर्यटकको संख्या उत्साहजनक देखिएन त ?

सन् २०२५ को पहिलो महीना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएकोमा चिनियाँको संख्या ८ हजार १९१ थियो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरीमा ८ हजार २८३ चिनियाँ नेपाल छन् । गत वर्षको यी दुई महीनामा १६ हजार ४४७ जना पर्यटक चीनबाट आएका थिए । गतवर्ष जनवरी र फेब्रुअरी महीनामा नेपाल भित्रने धेरै पर्यटकको संख्याको दोस्रो स्थानमा चिनियाँ थिए तर यसपटक भने चिनियाँ पर्यटकको संख्या तेस्रो स्थानमा रहेको छ । चालू वर्षमा पोखरामा ड्रागन बोट प्रतिस्पर्धामा भाग लिन विमान चार्टर गरेर चिनियाँहरू आए पनि र चीनमा नेपाल भ्रमण वर्ष मनाउने भनिए पनि अघिल्लो वर्षको तुलनामा पर्यटक बढ्न सकेको देखिँदैन । अझ भ्रमण वर्ष भनेर नेपालमा चिनियाँ र नेपाली मिलेर कार्यक्रम गरेको समाचार आए पनि चीनमा के कार्यक्रम गरियो भन्ने समाचार आएको छैन । त्यसैले नेपाल भ्रमण वर्ष पनि बीआरआईजस्तै हल्लामात्रै बनेको त होइन भन्ने प्रश्न पनि उठेको छ । 

विश्वमै धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने भनेर चिनिएका चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ । खासमा नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । उनीहरूको नेपाल बसाइ अवधि ४/५ दिनदेखि ९/१० दिनसम्म हुने गरेको छ । वसन्त चाड (स्प्रिङ फेस्टिबल) बिदाको समयमा चीनको बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि हुने समय हो । फेब्रुअरी १० देखि फेब्रुअरी १७ सम्म चिनियाँ पर्यटकहरूले करीब ३.६ मिलियन अन्तरराष्ट्रिय यात्राहरू गरेको तथ्यांक पाइन्छ । तर, हल्लाखल्ला भए पनि र नेपालले चीनमा प्रवर्द्धनका कार्यक्रम गरे पनि यही समयमा आउने पर्यटकको संख्या वृद्धि भएको देखिएन । दक्षिणपूर्वी एशियाका धेरै देशहरूले चीनका पर्यटकहरूलाई आकर्षित गर्न भिसामुक्त नीति अपनाएका छन् । नेपालले पनि भिसाशुल्क नलाग्ने व्यवस्था गरेको छ तर नयाँ वर्षको बिदामा चिनियाँ पर्यटकहरूले थाइल्यान्ड, सिंगापुर, मलेशिया, भियतनाम र इन्डोनेशिया भरिभराउ भए पनि नेपालमा भने उत्साहजनक संख्या पनि देखिएन । 

त्यसैले नेपालले चीन सरकारले पर्यटक पठाइदेला भनेर आश गर्नुभन्दा चिनियाँहरूले कस्तो खालको पर्यटन मन पराउँछन् त्यसअनुसार प्रडक्ट तयार पार्नतिर लाग्नुपर्छ । साहसिक क्रियाकलापका लागि पनि नेपाल उनीहरूको रोजाइमा नपरेको देखिन्छ । चिनियाँहरू रमाइलो गर्न भ्रमणमा निस्कने र नेपालमा त्यस्को अवसर खासै उपलब्ध नभएकाले उनीहरू नेपालप्रति कम आकर्षित भएका देखिन्छन् । पोखराको सौन्दर्यले उनीहरू लोभिएको पाइन्छ । त्यसबाहेक चिनियाँ पर्यटकले नेपालमा गर्ने क्रियाकलाप खासै केही छैनन् । कोरोनापूर्व नेपाल आएका चिनियाँ पर्यटकले खर्च गर्ने ठाउँ नपाएको गुनासो गरेका थिए । अहिले पनि मनोरञ्जनका हिसाबले कुनै नयाँ प्रडक्ट ल्याउन सकेको अवस्था छैन । अर्को, चिनियाँहरू बौद्ध धर्मावलम्बी भएकाले तिनीहरू नेपाल आउँछन् भन्ने सोच पाइन्छ जुन गलत हो । खासमा चिनियाँहरूलाई यस्तो र्धािर्मक स्थलप्रति खासै चासो देखिँदैन । चिनियाँ भुक्तानी प्रणालीबाटै भुक्तानी गर्न पाउनेलगायतका सुविधा दिए पनि पर्यटक चाहिँ बढ्न सकेनन् । त्यसैले चिनियाँ पर्यटकको प्रवृत्तिअनुसार प्रडक्ट नबनाउने हो भने नेपालमा चिनियाँ पर्यटक बढ्न सक्ने देखिन्न । अहिलेसम्म चिनियाँ पर्यटकबारे जेजस्तो अपेक्षा छ त्यो नै गलत हो भन्ने यसले देखाउँछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।