चितवन। चितवनका उद्योगी तथा व्यवसायीले बारम्बार परिवर्तन हुने कर नीति तथा आर्थिक नीतिलाई स्पष्ट, स्थिर, दीर्घकालीन उद्योग व्यवसायीमैत्री बनाउन सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य संघ खैरहनीको १३औं वार्षिक साधारणसभा तथा १८औं स्थापना दिवसको कार्यक्रममा उद्योगीले यस्तो माग गरेका हुन् । संघका अध्यक्ष कुमार खनालले व्यवसायमैत्री कर नीति लागू गरी करको दायरा नियमन गर्नुपर्ने तथा आयकर, भ्याट एवं अप्रत्यक्ष करलाई सरलीकरण गर्नुपर्ने माग गर्दै व्यवसाय स्थापनाको प्रक्रियालाई सहज र द्रुत बनाउने व्यवस्था गर्नुपर्ने बताए ।
संघले बैंकिङ प्रणालीमा सुधार गर्दै उद्योग व्यवसायका लागि निरन्तर सहुलियत कर्जा व्यवस्था गरी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने, ब्याजदरमा भएको उतारचढावले व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएकाले कर्जा व्यवस्थापन प्रणाली पारदर्शी र व्यवसायी अनुकूल बनाउनुपर्ने, भन्सार प्रक्रियालाई सरल बनाउँदै निर्यात नीतिलाई सहज बनाउनुपर्ने माग गरेको छ ।
त्यसैगरी देशभित्र उत्पादित वस्तु तथा सामग्रीलाई संरक्षण गर्दै अन्तरराष्ट्रिय बजारमा पुर्याउन सरकारको तर्फबाट आवश्यक पहल गर्नुपर्ने, पूर्वाधार विकासमा जोड दिँदै यातायात, सडक तथा औद्योगिक क्षेत्रको स्तरोन्नति गर्नुपर्ने, दक्ष जनशक्ति उत्पादनमा जोड दिन प्राविधिक शिक्षालाई व्यवस्थित गर्नुपर्ने, विदेशी लगानीलाई आकर्षण गर्न आवश्यक नीति लागू गर्नुपर्ने संघको माग छ ।
स्थानीयस्तरमा हुने उत्पादनलाई प्रवर्द्धन गर्न राज्यपक्ष र सरोकारवाला संस्थाबीच समन्वय हुनुपर्ने, पर्यटन प्रवर्द्धनका लागि फराकिलो क्षेत्र भएकोले पूर्वाधारलगायत पर्यटकीय सरोकारको विषयमा ध्यान दिनुपर्ने, निरन्तर जंगली जनावरबाट भएको धनजनको क्षतिप्रति राज्य संवेदनशील हुनुपर्ने, उपभोग्य वस्तुको मूल्य एवं गुणस्तरमा निगरानी गरी उपभोक्ताको विश्वास कायम राख्नुपर्ने संघको भनाइ छ । साधारणसभाको अवसरमा संघले वार्षिक कार्ययोजनासमेत सार्वजनिक गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।