काठमाडौं। नेपालका लागि युगाण्डाका नवनियुक्त राजदूत जोयसकाकुरा मात्सु किकाफुन्डाको उपस्थितिमा काठमाडौंमा द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल सम्पन्न भएको छ ।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैरआवासीय नवनियुक्त राजदूत प्रोफेसर किकाफुन्डाले युगाण्डा तथा नेपालबीच धेरै समानता रहेको बताउँदै नेपाली व्यवसायीलाई युगाण्डामा लगानी गर्न अनुरोध गरिन् ।
नेपाल तथा युगाण्डाको प्रतिव्यक्ति आय तथा जनसंख्या लगभग समान रहेको जानकारी दिँदै उनले धेरै विश्व मञ्चमा पनि नेपाल तथा युगाण्डाले साथ–साथै उपस्थिति जनाएको बताइन् । नेपाल आगामी वर्ष अल्पविकसित राष्ट्रको समूहबाट विकासोन्मुखमा स्तारेन्नति हुन लागेको तथा युगाण्डा पनि गतवर्ष स्तरोन्नतिको लागी योग्य भएको उनले जानकारी दिइन् ।
किकाफुन्डाले युगाण्डामा लगानीमैत्री वातावरण रहेको तथा लगानीकर्तालाई उद्योग खोल्न नि:शुल्क जमिन दिइने, आयकरमा छुट दिइने तथा अन्य विविध सुविधा रहेको बताइन् ।
युगाण्डाको कफी विश्वमा धेरै लोकप्रिय रहेको बताउँदै उनले नेपालमा पनि कफीबारे चासो रहेको थाहा पाउँदा खुशी लागेको बताइन् ।
नेपालका लागि युगाण्डाका प्रस्तावित कन्सुलर जनरल व्यवसायी विनय उपाध्यायले नेपाल तथा युगाण्डाबीच जनस्तरमा पनि सम्बन्ध बढ्दै गएको बताए । उनले आगामी दिनमा नेपाल तथा युगाण्डाबीच अझ धेरै लगानी तथा व्यापारमा जोड दिने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।