नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल

Share News

काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघ (निकी)को एक प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्याललाई शुक्रवार पार्टी कार्यालयमा भेटेर छलफल गरेको छ । सो अवसरमा नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल केन्द्रित रहेको संघले जनाएको छ ।

भेटवार्तामा संघका अध्यक्ष सुनील केसी र कार्यसमिति सदस्य उत्तम भ्लोन लामा सहभागी रहेको संघको विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा अध्यक्ष केसीले संघले नेपाल र भारतबीच सेतुको भूमिका खेलेको बताए । साथै संघले गरेको नेपाल–भारत आर्थिक सहकार्य प्रवर्द्धनका गतिविधिहरू पनि उनले प्रस्तुत गरे । संघको प्राथमिक उद्देश्य नेपालमा लगानीको अभाव पूर्ति गर्न विदेशी लगानी, विशेष गरी भारतीय लगानी आकर्षित गर्ने रहेको बताए । साथै, नेपालमा विदेशी लगानी आकर्षित गर्न तथा लगानीको सुरक्षाका लागि नीतिगत संरचनामा समस्या रहेको उल्लेख गर्दै प्रमुख नीतिगत सुधार आवश्यक रहेकोमा केसीले जोड दिए । 

मुख्यरूपमा बौद्धिक सम्पत्ति अधिकार, केही निश्चित क्षेत्रमा नाफा फिर्ता, दक्षिण एशियाली क्षेत्रमै उच्च रहेको ३९ प्रतिशतसम्मको आयकर तथा व्यवस्थापन शुल्कसम्बन्धी नीतिहरूमा सुधार आवश्यक रहेको केसीले बताए । 

स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)का उपाध्यक्ष समेत रहेका संघका कार्यसमिति सदस्य भ्लोन लामाले नेपालका ऊर्जा नीतिहरू र ऊर्जा व्यापारका अवरोधमाथि प्रकाश पारेका थिए । उनले निजीक्षेत्रलाई नीतिनिर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिए । यसो गर्दा ऊर्जामा लगानी र व्यापारका लागि अनुकूल वातावरण सृजना गर्न सकिने उनको भनाइ छ । 

कार्यवाहक सभापति अर्यालले नेपालमा मानव स्रोत, अवसर र विकासका लागि पर्याप्त सम्भावना रहेको बताए । उनले सुशासन र भ्रष्टाचारमुक्त व्यवस्था अनिवार्य रहेकोमा जोड दिँदै लगानीमैत्री वातावरण निर्माणका लागि सुधार आवश्यक रहेको बताए । 

निजीक्षेत्रको नीतिनिर्माण प्रक्रियामा संलग्नता आवश्यक रहेकोमा सहमति जनाउँदै उनले निजीक्षेत्रको सुरक्षा र कानूनी संरक्षणका लागि उचित नीति निर्माणमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।