सानिमा रिलायन्स लाइफले वितरण गर्‍यो ८ प्रतिशत नगद लाभांश

Share News

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले चैत ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट कुल ९ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यस वर्ष गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ दशमलव २५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि वितरण गर्ने तयारीमा रहेको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरिएको जानकारी दिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गरेकाले फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका हुन । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूले यथाशिघ्र गराई लाभांश प्राप्त गर्न समेत कम्पनीले भनेको छ ।

साथै आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरण गर्न लाग्ने लाभांश कर तिर्न बाँकी रहेका सदस्यहरूको यस वर्ष वितरण गरिने नगद लाभांशमा कट्टा गरी बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी पनि कम्पनीले दिएको छ । यस कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ छ । ६ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड ४९ लाख ७८ हजार रुपैयाँ कायम हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।