सेतो मच्छिन्द्रनाथको रथ निर्माण तीव्र, यसवर्षको यात्रा नयाँ पाङ्ग्रामा [तस्वीहरू]

Share News

काठमाडौं । काठमाडौंको तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरु भएको छ । आउँदो शनिबार चैते दशैंदेखि शुरू हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथ यात्रा को लागि रथ निर्माण भइरहेको छ ।

यो वर्ष यात्रामा रथ नयाँ पाङ्ग्रामा गुड्दैछन् । गत वर्ष नै नयाँ पाङ्ग्राहरू निर्माण भए पनि यो वर्ष मात्रै नयाँ  पाङ्ग्राहरू प्रयोग गरिएको छ । यो पटक नयाँ पाँग्रा करिब १५ वर्ष पछि परिवर्तन गरिएको हो ।

केल टोलस्थित जन बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्याइ रथमा विराजमान गराइसकेपछि रथयात्रा शुरू हुने गर्छ।

जात्राको पहिलो दिन जमलदेखि असन, दोस्रो दिन असनदेखि हनुमान ढोका, तेस्रो दिन लगनसम्म पुर्याइन्छ। लगनमा मच्छिन्द्रनाथकी आमाको मन्दिरलाई रथले तीनपटक परिक्रमा गर्नेछ। मच्छिन्द्रनाथको मूर्ति रथबाट झिकेर खटमा विराजमान गराई विधिपूर्वक फेरि जन बहालस्थित मन्दिरमा लगेर राखिनेछ।

यो वर्ष ग्लोबल आईएमई बैंकले सेतो मच्छिन्द्रनाथको रथ यात्रा भरि नै भक्तजनहरूलाई पानी वितरण गर्न स्टल राख्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।