भारतले पाकिस्तानबाट केही पनि आयात नगर्ने‚ लगायो प्रतिबन्ध

भारतको राजधानी नयाँ दिल्लीस्थित विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) को प्रधान कार्यालय । तस्वीर सोजन्य : डीजीएफटीको फेसबुक ।

Share News

नयाँ दिल्ली । गत अप्रिल २२ मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानसँग चर्कँदै गएको तनावबीच भारतले पाकिस्तानबाट हुने सबै आयातमा प्रतिबन्ध लगाएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालय (डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड-डीजीएफटी)ले पाकिस्तानबाट हुने सबै आयातमा प्रतिबन्ध लगाएको हो । यसैगरी, बन्दरगाह र जलमार्गहरू हेर्ने भारतको नौवहन महानिर्देशनालय (डाइरेक्टरेट जनरल अफ शिपिङ-डीजीएस)ले आदेश जारी गर्दै पाकिस्तानका कुनै पनि पानीजहाजलाई भारतका कुनै पनि बन्दरगाहमा प्रवेश नदिने जनाएको छ ।

पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत-पाकिस्तान दुवैले एकअर्काविरुद्ध धेरै प्रतिबन्ध लगाउँदै आएका छन् । तीमध्ये भारतले सिन्धु जल सम्झौता निलम्बन गर्नु र दुवै देशले हवाई उडानमा प्रतिबन्ध लगाउनु मुख्य रहेका छन् ।

डीजीएफटीले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ- अर्को आदेश जारी नहुन्जेलसम्मका लागि तत्काल लागू हुनेगरी पाकिस्तानबाट हुने प्रत्यक्ष/अप्रत्यक्ष सबै प्रकारका आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ।

डीजीएसले शनिवार ‘मर्चेन्ट शिपिङ एक्ट १९५८ को धारा ४११ प्रयोग गर्दै यो आदेश जारी गरेको जनाएको छ । पाकिस्तानी ध्वजावाहक कुनै पनि पानीजहाजलाई कुनै पनि भारतीय बन्दरगाहमा आउने अनुमति दिइने छैन र भारतीय ध्वजावाहक कुनै पनि पानीजहाज पाकिस्तानको कुनै पनि बन्दरगाहमा जाने छैन ।’

पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना मारिएका थिए भने धेरै जना घाइते भएका थिए ।

खस्कँदो व्यापार

भारत-पाकिस्तानबीच कहिल्यै पनि घनिष्ठ व्यापारिक सम्बन्ध रहेको थिएन । अझै त्यसमा पनि सामुद्रिक व्यापारको मामिलामा दुवैबीच प्रतीकात्मक रुपमा मात्र रहेको थियो भन्रु गलत हुँदैन ।

दुवै देशले सामुद्रिक व्यापार गर्ने जलमार्ग भने अरब सागर नै भए पनि दुवैबीचको कूटनीतिक तनाव र सुरक्षालगायत कारणले दुवै देशका मालवाहक पानीजहाजहरू अर्को देशका बन्दरगाहमा प्रवेश गर्दैनथे ।

व्यापारिक तथ्यांकले भारत-पाकिस्तानबीच पछिल्ला वर्षहरूमा आपसी व्यापार निरन्तर खस्कँदै गइरहेको देखाउँछ ।

भारतको वाणिज्य मन्त्रालयका अनुसार सन् २०२४ अप्रिलदेखि सन् २०२५ जनवरीसम्म भारतले पाकिस्तानबाट जम्माजम्मी ४ लाख २० हजार अमेरिकी डलरबराबरको मात्र आयात गरेको थियो ।

जबकि यसभन्दा अघिल्लो वर्षको यही अवधि अर्थात सन् २०२३ अप्रिलदेखि सन् २०२४ जनवरीसम्म भारतले पाकिस्तानबाट करीब २८ लाख ६० हजार अमेरिकी डलरबराबरको आयात गरेको थियो ।

निर्याततर्फ भारतले सन् २०२४ अप्रिलदेखि सन् २०२५ जनवरीसम्म पाकिस्तानतर्फ गरेको निर्यात घटेर ४४ करोड ७६ लाख ५० हजार अमेरिकी डलरमा झरेको थियो ।

जबकि यसभन्दा अघिल्लो वर्षको यही अवधि अर्थात सन् २०२३ अप्रिलदेखि सन् २०२४ जनवरीसम्म भारतले पाकिस्तानतर्फ १ अर्ब १० करोड अमेरिकी डलरबराबरको निर्यात गरेको थियो । बीबीसी हिन्दी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।