महिला टी-२० विश्वकप छनोट : नेपाल पुग्यो सुपर-थ्रीमा

तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान) को फेसबुक

Share News

काठमाडौं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एशिया छनोटको सुपर-थ्रीमा प्रवेश गरेको छ । हिजो (शुक्रवार) हङकङ-बहराइन खेल पानी परेर हुनै नसकेपछि बढी खेल जितेको आधारमा नेपाल सुपर–थ्रीमा पुगेको हो । 

समूह ‘सी’ मा हङकङ र नेपाल दुवैको ५ अंक भए पनि नेपालले बढी खेल जितेका आधारमा सुपर-थ्रीमा पुगेको हो । आईसीसीको नियमअनुसार ‘डबल राउण्ड रोबिन’ लिग खेलिसकेपछि समूहको शीर्षमा रहने दुई टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली समूहमा पहिलो हुने प्रावधान छ । 

हिजो खेल भएर हङकङले बहराइनलाई पराजित गरेको भए हङकङ नै ६ अंकसहित समूह विजेताका रुपमा सुपर-थ्रीमा पुग्ने र नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित थियो तर वर्षाले खेल अवरुद्ध गर्दा हङकङ प्रतियोगिताबाटै बाहिरिन पुग्यो । नेपालले लिग चरणमा खेलेका ४ खेलमध्ये २ खेल जितेको, एउटामा हार बेहोरेको र एउटा खेल नतिजाविहीन रहँदै ५ अंक जोडेको थियो । हिजोको खेलपछि हङकङको समीकरण थियो- लिग चरणमा खेलेका ४ खेलमध्ये एउटामा जित र ३ खेलमा नतिजाविहीन भएर ५ अंक । 

नेपालले सुपर-थ्रीमा बलिया टोली यूएई र थाईल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । सुपर–थ्रीमा तीनै टोलीले एकअर्कासँग खेलेपछि शीर्षमा रहने दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।