काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा ४ जना खेलाडी शून्यमा नै पवेलियन फर्किएपछि नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ । आजको खेलमा पराजित भए पनि नेपाल विश्वकपको ग्लोबल छनोटमा भने पुगिसकेको छ ।
थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रनमात्र बनाउन सक्यो र ठूलो अन्तरले पराजित हुन पुग्यो ।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् भने राजमति ऐरीले अविजित २० रन र रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।ओपनर सम्झना खड्काले ९ रन बनाइन् भने रुवि पोदारले ४ रन थपिन्। कप्तान इन्दु वर्माले ७ रन थपिन्। पूजा महतो, रोमा थापा‚ ईश्वरी विष्ट र रिया शर्मा शून्य रनमा आउट भए।
थाइल्याण्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक ४ विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले ३ विकेट र सुलेपोर्न लाओमीले १/१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
थाइल्याण्डका लागि नान्नापत कोन्चारोएनकाईले २८ बलमा ८ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । त्यसैगरी नटाया बुचथमले ४२ बलमा ५ चौकासहित ५० रन बनाइन् । अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ बनाइन् ।
नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले १/१ विकेट लिए ।
नेपाल र थाइल्याण्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुगेका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।