४६ प्रतिशतले बढ्यो चिया निर्यात

Share News

भद्रपुर । मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष (आव) को १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्याङ्क अनुसार रु ३ अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ । 

चालू आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु २ अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो । 

कार्यालयको तथ्याङ्कअनुसार चालू आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ । चालू आवको १० महिनामा रु ६ अर्ब ६६ करोड २५ लाख ४५ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ६ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो । 

भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सीआर सिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सिमेन्ट क्लिङ्कर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ  ।

मेची भन्सारबाट चालू आवको १० महिनामा रु २१ अर्ब ४५  करोड ९३ लाख २३ हजारको मालवस्तु निर्यात भएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।