काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपालको जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गर्दै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य साकार पार्न ‘विद्युत् विधेयक’ अत्यन्त अपरिहार्य रहेको बताएका छन् । उनले ऊर्जा क्षेत्रमा विद्यमान चुनौतीहरू समाधान गर्न र जलविद्युत् विकासलाई गति दिन यो विधेयक निर्णायक हुने दावी गरे ।
मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग सोमवार विद्युत् विधेयक विषयमा छलफल गर्दै मन्त्री खड्काले आफूले उक्त विधेयकलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
"हाम्रो संगठित र संयुक्त प्रयासबाट तयार भएको यो विधेयकले राष्ट्रिय ऊर्जा क्षेत्रलाई दीर्घकालीन स्थायित्व प्रदान गर्नुका साथै निजी तथा वैदेशिक लगानीसमेत आकर्षित गर्नेछ," मन्त्री खड्काले भने ।
विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा संरचना तय गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने कानूनी आधार तयार गर्नेछ। साथै, यसले ऊर्जा सुरक्षा प्रत्याभूति गर्दै स्थानीय र राष्ट्रिय दुवै तहको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको मन्त्री खड्काले बताए ।
सरकारले राखेको २८ हजार ५०० मेगावाट उत्पादन लक्ष्य प्राप्त गर्न दीर्घकालीन योजना, आधुनिक पूर्वाधार तथा लगानीमैत्री नीतिहरू आवश्यक रहेको सन्दर्भमा यो विधेयक रणनीतिक महत्त्वको कदम मानिएको भन्दै उनले विद्युत् विधेयकलाई “समृद्ध नेपाल निर्माणतर्फको सशक्त पाइला” को रूपमा अर्थ्याए । उनले विधेयकले सम्पूर्ण नेपालीका लागि उज्वल भविष्य सुनिश्चित हुने दावीसमेत गरे ।
सरकारले विधेयक छिट्टै संसद्मा प्रस्तुत गर्दै पारित गराउने तयारी गरिरहेको छ। ऊर्जाविज्ञ र सरोकारवाला निकायहरूले समेत विधेयकको स्वागत गर्दै यसले ऊर्जा क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने विश्वास व्यक्त गरेका छन्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।