काठमाडौं । दुग्ध किसानले दूध बेचेबापत उद्योगीबाट पाउनुपर्ने बक्यौता रकम ५ अर्ब रुपैयाँ पुगेको छ । करीब ६ महीनादेखि उद्योगी व्यवसायीबाट दूधको भुक्तानी नपाउँदा बक्यौता बढ्दै गएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अनुसार निजी डेरीबाट करीब ४ अर्ब र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट १ अर्ब रुपैयाँ गरी किसानले ५ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
संघका अध्यक्ष थानेश्वर सापकोटाले मौज्दात बढेको भन्दै उद्योगी व्यवसायीले भुक्तानी रोकेको बताए । उनका अनुसार यतिबेला सुक्खा सिजन भएकाले दूध उत्पादन कम हुने र खपत बढ्ने सिजन हो । त्यसकारण मौज्दात नहुनुपर्ने तर उद्योगी व्यवसायीले मौज्दातको बहानामा भुक्तानी रोकेको बताए ।
वैशाखदेखि असोजसम्म दूध उत्पादन घट्ने र खपत बढ्ने सिजन हो । कात्तिक, मङ्सिर, पुस, माघ, फागुन र चैतमा बढी दूध उत्पादन हुने र खपत घट्ने सिजन हो । किसानले पैसा नपाएपछि केन्द्रीय संघमा आबद्ध जिल्लाहरूमा संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको सापकोटाको भनाइ छ ।
नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल भने किसान र सहकारीले दाबी गरे जस्तो दूध उत्पादन नघटेको दाबी गर्दै गतवर्षको यो सिजनको तुलनामा यसपालि दूध उत्पादन ५ देखि १० प्रतिशतसम्म बढेकाले झन् समस्या उत्पन्न भएको बताउँछन् । नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ र डीडीसीसहितको करीब ४ अर्ब रुपैयाँ बराबरको बटर र धुलो दूध मौज्दात रहँदा किसानलाई भुक्तानी दिन समस्या भएको उनको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई भुक्तानी दिन नसकेकोमा आफूलाई पछुतो लागिरहेको तर केही गर्न नसकेको भन्दै लाचारी प्रकट गरेका छन् । ‘आगामी बजेट कार्यान्वयन हुने बेलासम्म म बस्छु कि बस्दिनँ, तर म नभए पनि किसानको पैसा तिर्न नसकेको जीवनभर नराम्रो सम्झना भएर रहनेछ,’ उनले भने ।
उनले किसानलाई १५ दिनभित्र दूधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको स्वीकार गरे । ‘हामी बोलेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्न पनि प्रयत्न गरेका छौं,’ मन्त्री अधिकारीले भने । चीनलगायत मुलुकमा दुग्ध पदार्थ निर्यातका लागि मन्त्रालयले गृहकार्य गरिरहेको र चाँडै त्यस कार्यमा सफलता प्राप्त हुने उनले बताए ।
दुग्ध क्षेत्रमा करीब ६ लाख किसान संलग्न छन् । नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशनले करीब ४ लाख किसानबाट दूध संकलन गर्छ । डीडीसीले करीब १ हजार २०० दुग्ध उत्पादक सहकारीमार्फत दूध संकलन गर्छ । १ हजार २०० सहकारीमा करीब २ लाख किसान परिवारको संलग्नता छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
१.५ अर्ब पुगेकाे छैन हाेला डिडिसि सम्बन्धि तथ्यांक गलत छ हाेला।
१९ जेठ २०८२, सोमबार