अपर म्याग्दी–१ जलविद्युत्‌को सुरुङ निर्माण शुरू

Share News

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४, खाम्लामा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण शुरू गरिएको छ । शनिवार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पहिलो विष्फोट गराएर  सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । आयोजनाका प्रमुख ज्योतिकुमार केसीका अनुसार सुरुङको लम्बाइ १ हजार ८ सय ६५ दशमलव ९५ मिटर हुनेछ । म्याग्दी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाको हालसम्म भौतिक प्रगति २४ दशमलव ४५ प्रतिशत र वित्तीय प्रगति २१ दशमलव ४८ प्रतिशत रहेको प्रमुख केसीले जानकारी दिए ।

म्याग्दी नदीको पानी सुरुङमा प्रवेश गराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ । आयोजनाको मेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट अन्तिम चरणमा पुगेको छ भने १३२ केभी क्षमताको प्रसारण लाइनको अध्ययन कार्य पनि भइरहेको प्रमुख केसीले बताए ।

उनका अनुसार धवलागिरि गाउँपालिका–४, खाम्लामा बाँध निर्माण गरी प्रतिसेकेण्ड ३३ दशमलव ६ घन मिटर पानी प्रयोग गरिनेछ । उक्त पानी ५ हजार ७ सय ८९ दशमलव ६९ मिटर लामो हेडरेस सुरुङ र ६९२ मिटर लामो पेनस्टक हुँदै मालिका गाउँपालिका–७, भारबाङमा निर्माणाधीन विद्युत्‌गृहसम्म पुर्याइनेछ । विद्युत्‌गृहमा जडान गरिने दुईओटा फ्रान्सिस टर्बाइनमार्फत ५३ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गरिनेछ । 

उत्पादन भएको विद्युत् मालिका गाउँपालिकाको डाँडाखेतमा निर्माणाधीन सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरीद विक्री सम्झौता अनुसार आयोजनाले २०८३ फागुन २१ गतेसम्ममा व्यावसायिक उत्पादन शुरू गर्नुपर्नेछ ।

‘२०८१ वैशाख २८ गतेदेखि कार्यक्षेत्रमा परिचालित सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार गरिसकेको छ । सुरुङ र विद्युत्‌गृह निर्माण कार्यमा तीव्रता दिएका छौं,’ केसीले भने ।

सानिमा बैंकको नेतृत्वमा ६ ओटा बैंक, प्रवर्द्धक कम्पनी तथा सर्वसाधारणको शेयरमार्फत जुटाइएको ११ अर्ब २३ करोड २७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना नदी प्रवाही प्रकृतिको हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।