इरानमा रहेका १६ नेपालीको उद्धार भारतले गरिदिने

इजरायलले जेठ ३० विहान गरेको हवाई आक्रमणपछि देखिएको इरानको राजधानी तेहरानको दृश्य (फाइल तस्वीर) ।

Share News

काठमाडौं । इजरायल-इरान युद्ध चर्किँदै गएपछि त्यहाँ रहेका १६ जना नेपालीको उद्धार छिमेकी भारतले गरिदिने भएको छ । इरानको राजधानी तेहरानस्थित भारतीय दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई भारतीय दूतावासमा सम्पर्क राख्न सूचना जारी गरेको छ । भारतीय दूतावासले आपत्‌कालीन टेलिफोन नम्बर र टेलिग्राममा सम्पर्क गर्न सूचनामा उल्लेख गरेको छ ।

नेपाल र श्रीलंकाले इरानमा रहेका आफ्ना नागरिकहरूको समेत उद्धार गरिदिन भारतसँग आग्रह गरेपछि भारतले नेपाली र श्रीलंकाली नागरिककोसमेत उद्धार गरिदिन लागेको हो । तेहरानस्थित भारतीय दूतावासका अनुसार उसले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकहरूको समेत उद्धार गर्नेछ । 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समिति (रासस)ले भारतको सहयोगमा इरानमा रहेका नेपालीहरूको उद्धार गरिने जनाएको छ । इरानमा १६ जना नेपाली रहेको र उनीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री डा राणाले भारतसँग आग्रह गरेको जानकारी दिएको राससले उल्लेख गरेको छ । 

सरकारको निर्देशनअनुसार भारतका लागि नेपालका राजदूत डा शंकर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका लागि भारत सरकारको सम्पर्क एवं समन्वयमा रहेको राससले जनाएको छ । 
तेहरानस्थित भारतीय दूतावासले दुई खेप गरेर ५१७ जना भारतीयको उद्धार गरिसकेको भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अपरेशन सिन्धु नाम दिइएको उद्धार अभियानअन्तर्गत इरानमा रहेका भारतीय विद्यार्थीसहित अन्यलाई शुक्रवार राति र आज (शनिवार) विहान गरी नयाँ दिल्ली ल्याइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इरानमा रहेका भारतीयलाई ल्याउन भारतले आजै अझै दुईवटा उद्धार उडान गर्ने जनाइएको छ । 

इरान-इजरायल युद्ध चर्किँदै जाँदा इजरायल र इरान दुवै देशबाट विश्वका धेरै देशले आफ्ना नागरिकहरूलाई फिर्ता बोलाउनुका साथै कतिपयले विशेष उडानबाट समेत फिर्ता लगिरहेका छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।