सुन र हीराका गहनामा लगाइएको करमा पुनरावलोकन गर्न चेम्बरद्वारा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण

Share News

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन र सुनका गहनामा लागू गरिएको विलासिता कर र हीरा रत्न जडित गहनामा लगाइएको भ्याटमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । 

सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हीरालगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यवहारिक रहेको र यसले उपभोक्तामा समेत गम्भीर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो । 

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरवारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लेखित विलासिता कर र भ्याट पुनरावलोकनको व्यवस्था वर्तमान आर्थिक अवस्थाको प्रतिकुल हुने बताएको छ । 

सरकारको कर नीतिले सुन चाँदी तथा रत्न आभूषणको व्यवसाय नै सञ्चालन गर्न नसकिने र यो क्षेत्रमा लाखौं जनशक्तिले रोजगारीसमेत गुमाउने अवस्था आएकाले सरकारको निर्णय पुनरावलोकन गर्न अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए । 

चेम्बर पदाधिकारीहरूसँगको भेटका क्रममा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्शले दिएको सुझावलाई आफूले गम्भीरताका साथ लिने प्रतिवद्धता जनाए । उनले सरोकारवाला निकायसँग छलफल गरेर समस्या समाधान गर्ने बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।