काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले बागमती प्रदेशका जिल्लाहरूमा प्रवाह गरेको औद्योगिक कर्जामध्ये काठमाडौंमा सर्वाधिक रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०८१ साउनदेखि पुससम्ममा काठमाडौंमा १० खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी औद्योगिक कर्जा लगानी गरेका छन्, जुन बागमती प्रदेशमा प्रवाह भएको कर्जाको ९२.४२ प्रतिशत हो ।
बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा ११ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी औद्योगिक कर्जा लगानी गरेका छन् ।
काठमाडौंपछि सर्वाधिक औद्योगिक कर्जा प्रवाह हुने बागमती प्रदेशको जिल्ला चितवन हो । उक्त जिल्लामा ३४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी औद्योगिक कर्जा लगानी गरिएको छ ।
यस्तै, ललितपुरमा २७ अर्ब ८ करोड रुपैयाँभन्दा बढी औद्योगिक कर्जा प्रवाह गरिएको छ ।
बागमती प्रदेशमा प्रवाह गरिएको औद्योगिक कर्जा काठमाडौंमा केन्द्रित भए पनि सेवा कर्जा भने काठमाडौंबाहेकका जिल्लामा पनि विस्तार गरिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार, चालू आवको ६ महीनामा काठमाडौंमा १४ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी सेवा कर्जा लगानी गरिएको छ, जुन बागमती प्रदेशमा प्रवाह गरिएको कुल कर्जाको ७५.४९ प्रतिशत हो । उक्त प्रदेशमा १९ खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी सेवा कर्जा प्रवाह गरिएको छ । बागमती प्रदेशमा प्रवाह गरिएको कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाह गरेको कर्जाको अंश ५९.६ प्रतिशत छ ।
सेवा कर्जा प्रवाहको हिसाबमा बागमती प्रदेशमा काठमाडौंपछि दोस्रो स्थानमा ललितपुर छ । उक्त जिल्लामा १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी भएको छ । जुन बागमती प्रदेशमा प्रवाह भएको कुल सेवा कर्जाको ७.१३ प्रतिशत हो ।
यसैगरी, चितवनमा १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी (६.४४ प्रतिशत) सेवा क्षेत्र कर्जा प्रवाह भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।