काठमाडौं । नेपालबाट चालू आर्थिक वर्षमा पछिल्लो ४ वर्षकै कम यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महीनामा अघिल्ला ४ आव को सोही अवधिको तुलनामा मूल्यको हिसाबले सबैभन्दा कम यार्सागुम्बा निर्यात गरेको छ ।
विभागका अनुसार नेपालबाट आव २०७८/७९ मा २९ करोड ६७ लाख ४९ हजार रुपैयाँको ४७६ किलो यार्सागुम्बा निर्यात भएको थियो । आव २०७९/८० मा पनि करीब ३० करोड रुपैयाँको ४९० किलो यार्सा निर्यात भएको तथ्यांक छ ।
गत आव २०८०/८१ को ११ महीनासम्म नेपालबाट ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको १ हजार ३१३ किलो यार्सागुम्बा निर्यात भएको थियो । तर, चालू आवको सोही अवधिमा निर्यात मूल्य ४२ करोड ६८ लाख ७९ हजार रुपैयाँले घटेको छ । चालू वर्षको ११ महीनामा नेपालबाट २१ करोड ५३ लाख ९९ हजार रुपैयाँको ५०६ किलो यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । पछिल्लो समय नेपालमा यार्सागुम्बाको उत्पादन घट्दै गएको नेपाल यार्सागुम्बा संघका अध्यक्ष निरञ्जनबहादुर चलाउनेले जानकारी दिए ।
जलवायु परिवर्तनको असरले हिमालमा विगतमा जस्तो हिउँ नपर्ने भएकाले उत्पादन घटेको उनले बताए । उत्पादन नै घटेपछि संकलनसमेत घटेको र त्यसको असर निर्यातमा परेको उनको भनाइ छ । वातावरणीय तथा जलवायु परिवर्तनले यार्सा उत्पादनलाई असर गर्ने जानकारहरू बताउँछन् । यसको संरक्षण र उत्पादन वृद्धिमा सरकारले उचित कदम चाल्नुपर्ने चलाउनेले बताए ।
नेपालबाट सबैभन्दा बढी यार्सा निर्यात चीनमा हुने गरेको छ । चालू आवको जेठसम्म चीनमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँको १४४ किलो यार्सा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधिमा चीनमा २२ करोड ८७ लाख ७५ हजार रुपैयाँको ५७१ किलो यार्सा निर्यात भएको थियो । पछिल्लो समय चीन र भारतले वातावरण अनुकूल बनाएर नेपालको जस्तै यार्सा उत्पादन गर्न थालेको चलाउनेको दाबी छ । ‘कृत्रिम रूपमा उत्पादन गरेर ती मुलुकहरू ठूला यार्सागुम्बा निर्यातकर्ता बनिसकेकाले उनीहरूले निकट भविष्यमै नेपाली यार्सागुम्बा निर्यातको बजारमा प्रभाव पार्न सक्ने खतरा छ,’ चलाउनेले आर्थिक अभियानसँग भने ।
नेपालबाट चीन, अस्ट्रेलिया, कम्बोडिया, रुस, युक्रेन, ओमन, अस्ट्रिया, चेक रिपब्लिक, ग्रीस, हङकङ, जापान, मलेशिया, सिंगापुर, भियतनामलगायत मुलुकमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।