काठमाडौं । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा बागमती प्रदेशको उद्योगको क्षमता उपयोग गत आवको सोही अवधिको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार समीक्षा अवधिमा प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३३ दशमलव ८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४१ प्रतिशत भन्दा ७ दशमलव २ प्रतिशत कम हो ।
छनोटमा परेका उद्योगहरूमध्ये सबैभन्दा बढी जलविद्युत् उत्पादन गर्ने उद्योगले ९९ दशमलव ९ प्रतिशत क्षमता उपयोग गरेका छन् भने सबैभन्दा न्यून अर्थात् ७ प्रतिशतमात्र क्षमता उपयोग औषधि क्षेत्रको ओइन्टमेन्ट उत्पादन गर्ने उद्योगले गरेको पाइएको छ ।
समीक्षा अवधिमा बियर, हल्का पेय पदार्थ, बिजुली, पशु दाना तथा चुरोट उत्पादन गर्ने उद्योगको उत्पादनमा वृद्धि देखिएको छ । यता, प्रशोधित दूध, सिमेन्ट, चाउचाउ, रङ, औषधिका विभिन्न प्रकार (ट्याब्लेट, क्याप्सुल, ड्राई–सिरप, लिक्विड, ओइन्टमेन्ट), गार्मेन्ट, कपडाको जुत्ता, इँटा, ट्रान्सफर्मर लगायत उद्योगहरूको उत्पादन भने घटेको छ । यी उद्योगहरूले ७ हजार ९७ स्वदेशी र १२८ विदेशी गरी कुल ७ हजार २२५ जनालाई रोजगारी दिएको प्रतिवेदनमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ३६ दशमलव ६ प्रतिशतले वृद्धि भई ११ खर्ब ७९ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ७ दशमलव ८ प्रतिशतले वृद्धि भई कर्जा ९ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । अहिले कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा २१ दशमलव ७१ प्रतिशत पुगेको छ ।
प्रतिवेदनका अनुसार काठमाडौं जिल्लामा मात्रै १० खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँ (९२.४ प्रतिशत) औद्योगिक कर्जा प्रवाह भएको छ । यसको ठीकविपरीत रसुवा जिल्लामा १३ करोड रुपैयाँ (०.०१ प्रतिशत) कर्जा प्रवाह भएको छ ।
यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादनमा कर्जा ३३ दशमलव ५ प्रतिशतले बढेको छ । विद्युत्, ग्यास तथा पानी सम्बन्धी उद्योगमा २९ दशमलव ९ प्रतिशत, निर्माण उद्योगमा १८ दशमलव ५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादनमा १३ दशमलव ६ प्रतिशत र खानीमा १३ दशमलव ५ प्रतिशतले कर्जा वृद्धि भएको छ । तर, धातु, मेसिनरी तथा इलेक्ट्रोनिक उपकरणसम्बन्धी उद्योगमा कर्जा ७ दशमलव ८ प्रतिशतले घटेको छ।
कुल औद्योगिक कर्जामध्ये विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी ३४ दशमलव १ प्रतिशत कर्जा प्रवाह भएको छ । त्यस्तै, गैरखाद्य वस्तु उत्पादनमा ३३ दशमलव ८ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनमा १५ दशमलव ३ प्रतिशत, निर्माण उद्योगमा १२ दशमलव ५ प्रतिशत तथा धातु र मेसिनरीसम्बन्धी उद्योगमा ३ दशमलव ७ प्रतिशत कर्जा प्रवाह भएको छ । खानी क्षेत्रमा सबैभन्दा कम शून्य दशमलव ७ प्रतिशत कर्जा विस्तार भएको उल्लेख गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।